प्रथम हाँसपोसा जुनियर रेडक्रस कन्क्लेभ हुने: विद्यार्थीको नेतृत्व विकासमा केन्द्रित
Screenshot
प्रथम हाँसपोसा जुनियर रेडक्रस कन्क्लेभको तयारी पूरा
तरहरा, सुनसरी । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले आगामी माघ १६ र १७ गते पहिलोपटक “जुनियर रेडक्रस कन्क्लेभ” आयोजना गर्ने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमा उपशाखाका सभापति उमेश राई (वालाहाङ) ले कार्यक्रमको तयारी र उद्देश्यबारे विस्तृत जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई रेडक्रसको सिद्धान्त, मानवीय मूल्य र स्वयंसेवाको भावना बुझाउनु यस सम्मेलनको मुख्य लक्ष्य रहेको सभापति राईले स्पष्ट पार्नुभयो ।
सम्मेलनमा सहभागी विद्यार्थीहरूका लागि विशेष तालिमका सत्रहरू सञ्चालन गरिनेछन्। जसमा रेडक्रस ओरिएन्टेसन, विपद् व्यवस्थापन, प्राथमिक उपचार (First Aid), र लाइफ सपोर्ट जस्ता विषयहरू समावेश छन्।
यसका साथै विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि नेतृत्व र सञ्चार कला (Leadership and Communication Development) सम्बन्धी प्रशिक्षण समेत दिइनेछ। कार्यक्रममा सहभागीहरूका लागि आवास र खानाको पूर्ण व्यवस्था गरिएको सभापति राईले जानकारी दिनुभयो ।
यस दुई दिने सम्मेलनको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य र सिर्जनात्मक गतिविधिहरू हुन्।
कार्यक्रममा निःशुल्क डेन्टल क्याम्प, ब्लड ग्रुपिङ, र रक्तदान जस्ता स्वास्थ्य कार्यक्रमका साथै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि ट्यालेन्ट हन्ट, नवप्रवर्तन (Innovation) र प्रदर्शनी समेत आयोजना गरिनेछ।
सम्मेलनको अन्तिम दिन स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण र सांस्कृतिक कार्यक्रम मार्फत स्थानीय पहिचानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
सुनसरीको तरहरा क्षेत्रमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय हाँसपोसा उपशाखाको इतिहास गौरवपूर्ण रहेको छ।
स्थापनाकालदेखि नै विपद्को समयमा उद्धार, एम्बुलेन्स सेवा र स्वास्थ्य शिविरहरू मार्फत स्थानीयको मन जित्न सफल यो उपशाखाले अहिले जुनियर रेडक्रस सर्कल (जुरेस) लाई सक्रिय बनाउन यो नयाँ पहल सुरु गरेको अध्यक्ष राईको कथन थियो ।
“यस ऐतिहासिक कन्क्लेभले भविष्यका स्वयंसेवकहरू उत्पादन गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।”, आज पत्रकार सम्मेलनमा बोल्दै सभापति राईले कार्यक्रमलाई सफल बनाउन सहयोग सबैलाई धन्यवाद दिदै भन्नुभयो, “अनुमानित १५ लाख रुपैयाँ बजेट रहेको यस कार्यक्रमका लागि स्थानीय सरकार, शैक्षिक संस्था, व्यवसायी र सामाजिक व्यक्तित्वहरूबाट सहयोग जुटाइने जुटाईएको छ । र हामी यो सहयोग, साथ र सदभावका लागि उहाँहरु प्रति आभारी छौं ।”
कार्यक्रममा उपाध्यक्ष होमनाथ खड्का, संयोजक सुमन रेग्मी, संजीव सिं लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
गोर्खा खबरसँग कुराकानी गर्दै संयोजक सुमन रेग्मीले युवा जमात भएका कारण यस प्रकारको कार्यक्रम आयोजना गर्न सफल भएको विश्वास व्यक्त गर्नुभयो ।
