राष्ट्रिय जनसहयोग कलेजमा नयाँ नेतृत्व र शैक्षिक सुधारका योजना
राष्ट्रिय जनसहयोग कलेज तरहराको नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न भएको छ। मिति २०८२ पुस २३ गते बसेको बैठकले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि महत्वपूर्ण कदमहरू चाल्ने निर्णय गरेको हो।
BCA कक्षा र अत्याधुनिक ल्याबको तयारी कलेजले विद्यार्थीहरूको माग र प्रविधिको आवश्यकतालाई मध्यनजर गर्दै यसै शैक्षिक सत्रदेखि BCA (Bachelor of Computer Applications) फ्याकेल्टीको कक्षा बिहानको समयमा सञ्चालन गर्ने निर्णय गरेको छ।
सबैभन्दा चुनौतीपूर्ण विषय मानिएको कम्प्युटर ल्याब व्यवस्थापनका लागि सञ्चालकहरू आफैँले सक्रियता देखाएका छन्। ल्याबका लागि आवश्यक ३५ थान कम्प्युटर जुटाउन सञ्चालक समितिका सदस्यहरूले प्रति व्यक्ति १ देखि ४ थानसम्म कम्प्युटर प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। कलेज प्रशासनले यस सराहनीय कार्यका लागि सञ्चालक सदस्यहरूप्रति आभार व्यक्त गर्दै अन्य शुभेच्छुकहरूलाई पनि सहयोगका लागि हार्दिक अपिल गरेको छ।
नेतृत्व चयन र पदपूर्ति सञ्चालक समितिलाई पूर्णता दिने क्रममा बैठकले सर्वसम्मत रूपमा उपाध्यक्षमा विष्णु खड्का (संरक्षक सदस्य) र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई नयाँ पदाधिकारी चयन गरेको छ।
नवनियुक्त पदाधिकारीहरूलाई कलेज परिवारले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
भौतिक पूर्वाधारमा जोड बैठकले कलेजको सौन्दर्यकरण र व्यवस्थापनका लागि ग्राउन्डमा ब्लक बिछ्याउने बाँकी कामलाई तीव्रता दिने निर्णय गरेको छ। यसका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने प्रक्रिया समेत अगाडि बढाइएको कलेजले जनाएको छ।
