आन्दोलनको चोट बिर्सिएर इटहरीको विकासमा जुट्न मेयर पौडेलको आग्रह : प्रहरी भवन हस्तान्तरण, इप्रका पुनःस्थापित
जेन–जी’ आन्दोलनका नाममा भएको अराजकता र घुसपैठका कारण आफ्नै घरमा आगजनीको पीडा भोगेका इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सार्वजनिक सम्पत्तिको संरक्षणमा नगरबासी एकजुट हुनुपर्ने बताउनुभएको छ ।
भदौ २४ गतेको सोही हिंसात्मक प्रदर्शनमा ध्वस्त बनेको इलाका प्रहरी कार्यालय इटहरीको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताउनुभएको हो ।
योसॅगै गत भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःनिर्माण सम्पन्न भएको छ।
इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोग र स्थानीय उपभोक्ता समितिको सक्रियतामा हिंसात्मक प्रदर्शनका क्रममा पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःनिर्माण भई औपचारिक रूपमा सञ्चालनमा आई प्रहरीलाई हस्तान्तरण गरिएको हो।
“अराजक समूहले मेरो व्यक्तिगत निवासमा पनि आगजनी गरेका थिए तर म बढी चिन्तित हाम्रो सुरक्षा दिने प्रहरी कार्यालय ध्वस्त हुँदा थिएँ । व्यक्तिगत क्षति त समयक्रममा पूर्ति होला, तर सार्वजनिक संस्थामाथिको प्रहारले समाजलाई असुरक्षित बनाउँछ ।”, आफ्नै घरमा समेत आगजनी र तोडफोडको सिकार हुनुभएका मेयर पौडेलले भन्नुभयो— “जसले अराजकता फैलाए, उनीहरूले सहरको विकासलाई रोक्न खोजेका थिए । तर हामीले तीन महिनाभित्रै यो भवन पुनःनिर्माण गरेर अराजक तत्वहरूलाई कामबाटै जवाफ दिएका छौँ । आज ५३ लाखको लागतमा यो भवन ठड्याउनु हाम्रो सहरको एकताको प्रतिक हो ॥ सबै प्रति उपमानगरपालिका आभारी छ ।”
उहॅाले उपमहानगर र उपभोक्ता समितिको समन्वयका कारण छोटो समयमै ५३ लाख ३५ हजार ८०७ रूपैयाँको लागतमा मर्मत कार्य सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।
उपमेयर संगीता चौधरी, स्थानीय जनप्रतिनिधि र विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजित सो समारोहमा मेयर पौडेलले जस्तोसुकै चुनौती आए पनि इटहरीको शान्ति सुरक्षा र विकासमा पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो ।
भवन ध्वस्त भएपछि विगत तीन महिनादेखि तरहरास्थित अस्थायी चौकीबाट सेवा दिँदै आएको थियो । प्रहरी अब यही कार्यकक्षमा फर्किएको छ।
वडा अध्यक्ष जितेन्द्र थापा (जितेन) का अनुसार भवन मर्मत तथा निर्माण कार्यमा कुल ५३ लाख ३५ हजार ८०७ रूपैयाँ खर्च भएको छ।
