काठमाडौँ । गोकर्णेश्वर नगरपालिकास्थित जगडोल सहिद पार्कमा गुरुङ समुदायको महान् पर्व तमू ल्होसार (स्योकै) भव्यताका साथ मनाइएको छ। खोटाङ गुरुङ (तमू) सेवा समाज, आरुबारी गुरुङ (तमू) सेवा समाज (पानी खोल्सी) र गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो।
खोटाङ गुरुङ (तमू) सेवा समाजका अध्यक्ष होमनाथ गुरुङको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यस्तै, कार्यक्रममा संविधान सभा सदस्य हिरा गुरुङ, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसाल, वडा नं. ९ का सदस्यहरू लक्ष्मी गुरुङ, उमेश चालिसे, कृष्ण कारणजीत, कमला परियार लगायत विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी र ठुलो संख्यामा गुरुङ समुदायको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सन्तोष चालिसेले तमू ल्होसारले गुरुङ समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक एकतालाई मजबुत बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको बहुसांस्कृतिक समाजमा यस्ता मौलिक पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।”
नगरप्रमुख दीपक कुमार रिसाल र संविधान सभा सदस्य हित गुरुङले पनि गुरुङ संस्कृतिको महत्वबारे चर्चा गर्दै स्थानीय तहले यस्ता सांस्कृतिक कार्यमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
सभापति होमनाथ गुरुङले ल्होसार केवल रमाइलो गर्ने माध्यम मात्र नभई गुरुङ समुदायको जीवन दर्शन र प्रकृतिप्रतिको सम्मान रहेको उल्लेख गर्नुभयो। त्यस्तै, वडा सदस्य लक्ष्मी गुरुङले समुदायबीचको एकता र सद्भाव नै समृद्ध समाजको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग जारी राख्ने बताउनुभयो।
कार्यक्रम सञ्चालन गर्दै खोटाङ गुरुङ (तमू) सेवा समाजकी सचिव मैना गुरुङले आधुनिकतासँगै गुरुङ भाषा र संस्कृति ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य आगामी पुस्तालाई आफ्नो मौलिक परम्परा र भाषाको महत्त्व बुझाउनु हो, ताकि हाम्रो पहिचान दीर्घकालीन रूपमा जीवन्त रहोस्।”
कार्यक्रममा सहभागीहरू गुरुङ समुदायको परम्परागत भेषभूषा र गरगहनामा सजिएका थिए। मौलिक नाचगान र परम्परागत परिकारहरूको स्वादसँगै वनभोज (Picnic) गरिएको थियो। यस कार्यक्रमले आपसी भाइचारा र आत्मीयतालाई बलियो बनाउनुका साथै गुरुङ समुदायको भाषा र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।
