इटहरीको तरहरामा भव्य रूपमा मनाइयो ‘तमु ल्होसार’
इटहरी। गुरुङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष ‘तमु ल्होसार’ इटहरीको तरहरामा भव्य रूपमा मनाइएको छ। गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति इटहरी (वडा १, १९ र २०) को आयोजनामा आयोजित उक्त कार्यक्रममा स्थानीय गुरुङ समुदायले आफ्नो मौलिक परम्परा, धर्म र संस्कृतिको प्रदर्शन गरेका थिए।
गुरुङ बौद्ध गुम्बा तमु सेवा समितिका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथिको रूपमा रहनुभएको थियो।
कार्यक्रममा गुरुङ समुदायका दाजुभाइ तथा दिदीबहिनीहरू आ-आफ्नो परम्परागत भेषभूषामा सजिएर मौलिक सांस्कृतिक नृत्य तथा झाँकीहरू प्रस्तुत गरेका थिए, जसले तरहराको वातावरणलाई नै उत्सवमय बनाएको थियो।
यसै अवसरमा समाजका होनहार चार जना विद्यार्थीहरूलाई उनीहरूको उच्च शिक्षामा प्राप्त सफलताको कदर गर्दै सम्मान गरिएको थियो। कार्यक्रमका संयोजक तथा वडा सदस्य तनुज गुरुङ (सुरेश)ले युवा पुस्तामा आफ्नो संस्कार र पहिचान हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरूको ठूलो महत्त्व रहने बताउनुभयो।

उत्सवसँगै सामाजिक सेवालाई पनि जोड्दै तरहरा शुभ स्वास्थ्य सामुदायिक केन्द्र र अनुप्रित मेडिकल हलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा १०० भन्दा बढी स्थानीयले सुगर र प्रेसरको जाँच गराई लाभ लिएका थिए। कार्यक्रममा कलाकार सुपर सुरेश कार्कीको विशेष सांकेतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो। प्रमुख अतिथि श्रेष्ठले गुरुङ समुदायको सांस्कृतिक विकासका लागि वडा कार्यालय सधैं तत्पर रहने र आगामी दिनमा पनि आवश्यक आर्थिक एवं नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
जनप्रतिनिधि तनुज गुरुङ (सुरेश)लाई तरहरा उत्सवमा सम्मान

तमु ल्होसारको अवसरमा तरहरा उत्सवले इटहरी वडा नम्बर २० का वडा सदस्य एवं युवा नेता तनुज गुरुङ सुरेशलाई उहाँको उत्कृष्ट सामाजिक योगदानको कदर गर्दै विशेष सम्मान गर्ने घोषणा गरेको छ ।
कार्यक्रमका संयोजक तथा वडा सदस्य तनुज गुरुङ (सुरेश)लाई यस वर्ष तरहरा उत्सव २०८२ ले सम्मान गर्नेछ । आजै सोको घोषणा गर्दै तरहरा उत्सवका संयोजक नवीन गुरुङ उर्फ गुरुङ सोल्टीले प्रष्ट्राए, जातीय आधार वा कुनै स्वार्थले नभई जनप्रतिनिधिको रुपमा सक्रिय जनताको सेवामा काम गरिरहेकाले सोकोे लागि आभारसहित प्रोत्साहित गरिने हो ।
निर्वाचित भएदेखि नै वडावासीको सुखदुःखमा दिनरात नभनी अहोरात्र खटिने, विकास निर्माणमा सक्रिय भूमिका खेल्ने र उत्पीडित वर्गको हितमा आवाज उठाउने एक जुझारु जनप्रतिनिधिको रूपमा उहाँ सम्मानित गर्न लागिएको, तरहरा उत्सवले जनाएको छ ।
समाजसेवामा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान र युवा पुस्तालाई आफ्नो संस्कार र पहिचान जोगाउन प्रेरित गर्ने कार्यको उच्च मूल्याङ्कन गर्दै, उहाँको मनोबल अझ बढाउन (प्रोत्साहनका लागि) समितिले सम्मान प्रदान गर्नेछ, उत्सव संयोजक गुरुङले भने, उहाँको यो सक्रियताले वडा र समग्र समाजको विकासमा महत्वपूर्ण उर्जा थपेकोले यसको प्रशंसा पनि सम्मान गर्नुको एक कारण हो ।
जिल्ला प्रशासन कार्यालय, ईटहरी उपमहानगरपालिका र वडाबाट यहीँ माघ १७ गते उत्सव आयोजनाका लागि अनुमति भए र स्थानीयले साथ, सहयोग एवम् प्रेम दिए, यसपटकको उत्सवबाट अर्को ईतिहास रच्ने गुरुङले बताए ।
तनुज गुरुङ तमु समुदायको मात्र होइन, वडाकै हिरो -वडा अध्यक्ष श्रेष्ठ

इटहरी। गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति (इटहरी १, १९ र २०) को आयोजनामा तरहरामा तमु ल्होसार पर्व विशेष समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले गुरुङ समुदायको संस्कार र संस्कृतिले राष्ट्रलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
गुरुङ समुदायसँगको आत्मीय सम्बन्ध: सम्बोधनका क्रममा वडा अध्यक्ष श्रेष्ठले गुरुङ समुदायसँग आफ्नो पारिवारिक र भावनात्मक सम्बन्ध रहेको खुलासा गर्नुभयो।
“म गुरुङ समुदायबाट टाढा रहनै सक्दिनँ, किनकि म र मेरो परिवारले यो समुदायलाई असाध्यै माया गर्छौँ,” उहाँले भन्नुभयो, “हाम्री कान्छी बुहारी पनि गुरुङ समुदायकै हुनुहुन्छ, जसले गर्दा हाम्रो पारिवारिक सम्बन्ध अझ प्रगाढ बनेको छ।”
उहाँले राष्ट्र निर्माण र वडाको विकासमा गुरुङ समुदायले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो।
वडा सदस्य तनुज गुरुङ (सुरेश) को सक्रियताको चर्चा गर्दै श्रेष्ठले भन्नुभयो, “तनुज गुरुङ अब तमु समुदायको मात्र होइन, हाम्रो वडाकै ‘हिरो’ का रूपमा उदाएका छन्। उनको दिन-रातको खटाई र जनताप्रतिको उत्तरदायित्वले वडाबासीलाई ठूलो राहत मिलेको छ।”
देशको परिस्थिति र वैदेशिक हस्तक्षेपप्रति चिन्ता: वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले मुलुकको अवस्था गम्भीर रहेको र नेपालीहरू सजग हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बाह्य शक्ति र वैदेशिक तत्वहरूबाट परिचालित व्यक्तिहरूप्रति सचेत रहन आग्रह गर्दै देशको स्वाधिनता र समृद्धिका लागि सबै नागरिक गम्भीर हुनुपर्ने बताउनुभयो।

गुरुङ समुदायको नयाँ वर्ष ‘ल्होसार’ को अवसरमा आयोजित उक्त कार्यक्रममा मौलिक सांस्कृतिक नृत्य, झाँकी र विद्यार्थी सम्मानका साथै निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो। कार्यक्रम आयोजक समितिका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कलाकार सुपर सुरेश कार्कीले विशेष प्रस्तुति दिएका थिए।तनुज गुरुङ तमु समुदायको मात्र होइन, वडाकै हिरो -वडा अध्यक्ष श्रेष्ठ
तमु ल्होसार गुरुङ समुदायको नयाँ संवत् हो। ‘ल्हो’ भन्नाले वर्ग वा वर्ष र ‘सार’ भन्नाले परिवर्तन वा नयाँ भन्ने बुझिन्छ। गुरुङ संस्कृतिमा १२ वटा विभिन्न जनावर र चराचुरुङ्गीको नामबाट वर्षहरूको गणना गरिन्छ। हरेक वर्ष पुस १५ गते पुरानो ‘ल्हो’ (वर्ग) लाई बिदाइ र नयाँ ‘ल्हो’ लाई स्वागत गर्दै यो पर्व मनाइन्छ। यस दिनदेखि सूर्य उत्तरायण हुने र दिनहरू क्रमशः लामो हुँदै जाने विश्वासका साथ यसलाई प्रकृति र समय चक्रको उत्सवका रूपमा लिइन्छ।
