इटहरी, भदौ २३ – “नो करप्सन” (भ्रष्टाचारमुक्त देश) को नारासहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि सरकारले गोली चलाउँदा ७२ जना युवाले ज्यान गुमाएका छन्। टाउको र छातीमा लक्षित गरी चलाइएको गोलीले चार सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। यस घटनाले नेपाली इतिहासमा अर्को कालो अध्याय थपेको छ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार गर्ने सरकारको दायित्व भए पनि यो आन्दोलन केवल राहतका लागि नभएको आन्दोलनकारीले बताएका छन् । उनीहरूका अनुसार, यस आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, र आर्थिक समानता हो।
प्रदर्शनका क्रममा गोली प्रहारको आदेश तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव र जिल्ला प्रशासन अधिकारीबाट दिइएको प्रमाण प्रदर्शनकारीले देखाएका छन्। त्यसैले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल उनीहरूलाई नियन्त्रणमा लिएर निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
नागरिकको ज्यान लिने घटनाको सत्यतथ्य बाहिर नल्याएसम्म र दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म Gen Z पुस्ताको यो आन्दोलन सार्थक हुन नसक्ने आन्दोलनकारीको भनाइ छ। यस घटनामा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने उनीहरूले चेतावनी दिएका छन्।
अशोक कुमार चौधरी
नेता, रास्वपा
निवर्तमान सांसद
