विराटनगर । पत्रकार महासंघ लगायतका सञ्चार सङ्गठनहरूको व्यापक विरोधपछि कोशी प्रदेशसभाले आमसञ्चार विधेयकलाई पारित गर्ने कार्यसूचीबाट हटाएको छ। विधेयकका केही प्रावधानले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सक्ने भन्दै पत्रकारहरूले चर्को विरोध गरेका थिए।
यसअघि, प्रदेशको न्याय तथा विधायन समितिले पारित गरेर प्रदेशसभामा पेस गरिएको यो विधेयकलाई शुक्रबारको प्रदेशसभा बैठकको कार्यसूचीमा नराख्ने निर्णय भएको छ। यो विधेयकमा रहेका कतिपय बुँदाहरू पत्रकारिताको स्वतन्त्रताको विपक्षमा भएको भन्दै चर्को आलोचना हुँदै आएको थियो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत विधेयक अहिले अगाडि बढ्न नसक्ने संकेत दिएका थिए। यस निर्णयले पत्रकारिता क्षेत्रको दबाब र सरोकारलाई सम्बोधन गरेको मानिएको छ।
