इटहरी । सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) चन्द्रकुबेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो।
वर्तमान आईजीपी दीपक थापाले भदौ १८ गते राति १२ बजेबाट अनिवार्य अवकाश पाउँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद्ले नयाँ आईजीपीको टुंगो लगाएको हो।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख छन्। उनी र पूर्व आईजीपी थापा एउटै ब्याचका इन्स्पेक्टर भए पनि उनीहरूको नियुक्ति तीन पटकमा भएको थियो। यसअघि सोही ब्याचका बसन्तबहादुर कुँवर चैत ५, २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए।
भदौ १९, २०५२ मा नियुक्ति लिएका खापुङ आईजीपी बन्ने दौडमा एक्ला प्रतिस्पर्धी थिए। सोही समूहमा रहेका एआईजी लालमणि आचार्य जेठ १० गते उमेर हदका कारण अवकाशमा गइसकेका छन्। त्यस्तै, अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
नयाँ प्रहरी ऐन जारी नभएमा खापुङ पनि ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन्। नयाँ ऐन आएमा भने उनको सेवा अवधि ६ महिना थपिनेछ।
