इटहरी – किरात राई सुम्निमा संघ जिल्ला कार्य समिति सुनसरीले आफ्नै भवनको दोस्रो तल्ला निर्माण सम्पन्न गरी एक समारोहबीच उद्घाटन गरेको छ। इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको उद्घाटन गरेका हुन्।
संघको इटहरी–५ मा रहेको भवनको दोस्रो तल्ला निर्माणका लागि इटहरी उपमहानगरपालिका र स्थानीय दाताहरूको सहयोगमा ११ लाख ८९ हजार ६ सय ६९ रुपैयाँ संकलन भएको थियो। यसमध्ये ११ लाख ४६ हजार १ सय ५ रुपैयाँ खर्च भएको संघले जनाएको छ।
अध्यक्ष सबिता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेयर पौडेलले यस भवन निर्माणलाई आदिवासी जनजातिहरूको सामाजिक र सांस्कृतिक उत्थानका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
उनले यो पहल सामाजिक र सांस्कृतिक आवश्यकता पूर्तिका लागि गरिएको भन्दै यसको सराहना गरे।
पौडेलले आदिवासी जनजातिका १६ वटा जातिहरूका लागि छुट्टाछुट्टै भवन निर्माण गर्ने योजना रहेको र आगामी वर्षभित्र सबैको भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले यी भवनहरू समुदायको दुःख–सुख बाँड्ने र संस्थागत विकास गर्ने केन्द्रका रूपमा विकास हुने बताए।
यो पनि पढ्नहोस्
संघकी अध्यक्ष सबिता राईले भवनको दोस्रो तल्ला निर्माणपछि कार्यालय र सभाहल छुट्टाछुट्टै हुने हुँदा विभिन्न कार्यक्रम, छलफल, बैठक र महिलाहरूको क्षमता अभिवृद्धि गर्ने तालिमहरू सञ्चालन गर्न सहज हुने बताइन्।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दिपकला राई, निर्माण व्यवसायी र अन्य दाताहरूलाई कदरपत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराई, किरात राई यायोक्खा केन्द्रीय सदस्य कमाला राई, किरात राई वान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती, किरात राई सुम्निमा संघकी केन्द्रीय सचिव माया राई लगायतको सहभागिता रहेको थियो।

तस्वीर: माया राई
