डा. रेमबहादुर गुरुङको १५औं स्मृति सभा

0

स्मृति सभामा स्व. डा. रेमबहादुर गुरुङको जीवन र योगदानबारे चर्चा गरिनुका साथै उहाँप्रतिको श्रद्धाञ्जली अर्पण गरिएको थियो।

Dharan Dr. Rem Gurung news

दिव्यराज गुरुङ
२०८२ साउन १२ गते

धरान — तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्, जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा दिवंगत समाजसेवी डा. रेमबहादुर गुरुङको १५औं स्मृति सभा आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।

कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ र कोशी प्रदेश प्रमुख आनन्द गुरुङ विशिष्ट अतिथिको रूपमा सहभागी थिए।

त्यसैगरी, परिषदका केन्द्रीय सदस्यद्वय दिव्यराज गुरुङ र बलिमान गुरुङ, पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङ लगायत अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रममा सम्पूर्ण सुनसरीवासी तमु समुदाय (तमुश्यो) हरूको उल्लेख्य सहभागिता देखिएको थियो। स्मृति सभामा स्व. डा. रेमबहादुर गुरुङको जीवन र योगदानबारे चर्चा गरिनुका साथै उहाँप्रतिको श्रद्धाञ्जली अर्पण गरिएको थियो।

स्मृति सभाले डा. रेमबहादुर गुरुङलाई तमु समुदायको एकता र सामाजिक सेवामा योगदान दिने प्रेरणाको स्रोतका रूपमा चित्रण गरे ।

‘तमू जातिको नेतृत्व डा रेमबाट सिक्नुपर्छ’

चितवन । तत्कालीन तमू छोँज धीँका अध्यक्ष एवम् तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद संरक्षक परिषदका पूर्वअध्यक्ष डा रेमबहादुर गुरूङलाई चितवनका गुरूङहरुले स्मरण गरेका छन्। डा गुरूङको १५औँ पुण्यतिथिमा चितवनका गुरूङहरुले देशभरका गुरूङहरुलाई एक ठाउँमा ल्याउने भूमिका खेलेको भन्दै चर्चा गरेका हुन्। तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको स्मृति दिवसमा डा रेमको योगदानकै कारण आज गुरूङ समुदाय एकताको सूत्रमा बाँधिएको तमू समुदायका अगुवाहरुले बताए। तसर्थ डा रेमले समुदायप्रति गरेको योगदानलाई पछिल्लो समय तमू समुदायको नेतृत्व गर्नेहरुले भुल्न नहुने समेत तमू अगुवाहरुले बताए।

तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले डा रेमबहादुर गुरूङको शेषपछि दोस्रो व्यक्तिको जन्म हुनै बाँकी रहेको बताए। ‘तमू समुदायका लागि डा रेमले जति काम गर्नुभयो त्यसपछि मैले त्यत्तिको योगदान दिन सक्ने व्यक्ति भेटेको जस्तो लाग्दैन’, उनले भने, ‘अबको नयाँ पुस्ताले तमू समुदायलाई कता लैजाने भन्ने विषयमा सोच्नुपर्छ।’ कुनै पनि व्यक्ति संघसंस्थाको नेतृत्वमा पुगिसकेपछि पक्ष र विपक्ष हेर्न नहुने उनको तर्क थियो।

तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनकी अध्यक्ष विमलादेवी गुरूङले डा रेमबहादुर गुरूङलाई तमू ह्युल छोँज धीँको चितवन जिल्लाले तमू समुदायकै एक जना कर्मठ योद्धा गुमाएको बताइन्। देशभर आआफ्नो तरिकाले संघ/सङ्गठन खोलेर बसेका तमूहरुलाई एउटै छातामुनि ल्याएर तमू समुदायलाई सत्मार्गमा हिँड्न सिकाउने व्यक्तिको इतिहासलाई वर्तमानले बिर्सन नहुने भन्दै तमू ह्युल छोँज धीँको चितवन जिल्ला समितिले विगतदेखि नै सम्झिने प्रयास गर्दै आएको उनले बताइन्।

रेमकै कारण आज हामी यो स्थानमा उभिन सकेका छौँ’, उनले भनिन्, ‘भोलिको पुस्ताले पनि डा. रेमको योगदानलाई बिर्सन हुँदैन।’ डा. रेमजस्तै व्यक्तिका कारण तमू समुदायको नेतृत्वमा बसेर खुट्टा दह्रो बनाउने प्रयास गर्दै आएको उनको भनाइ छ। सत्कर्म गर्ने जोसुकै व्यक्तिलाई शेषपछि पनि मानवजगत्ले सम्झिइरहने बताउँदै उनले भनिन्, ‘म आज तमू ह्युल छोँज धीँको नेतृत्वमा रहँदै गर्दा समुदायलाई माथि उकास्न नसके पनि बर्बाद हुनबाट जोगाउन सक्छु भन्ने प्रेरणा मिलेको छ।’

कार्यक्रममा तमू ह्युल छोँज धीँका निवर्तमान केन्द्रीय सचिव सन्तलाल गुरूङ, केन्द्रीय सदस्य नारायणसिंह गुरूङ, तमू ह्युल छोँज धीँका सल्लाहकार शारदा गुरूङ, तमूस्यो ह्युल छोँज धीँ चितवनकी अध्यक्ष सीतादेवी गुरूङलगायत विभिन्न संघसंस्था एवम् तमू ह्युल छोँज धीँका विभिन्न इकाइका प्रतिनिधिहरु सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *