“हिउँको गीत” उपन्यासमाथि विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न
दिव्यराज गुरुङ / इटहरी
२०८२ साउन १२ गते
सगरमाथा साहित्य प्रतिष्ठान, कोशी प्रदेशको आयोजनामा प्रख्यात लेखक तीर्थ गुरुङद्वारा लेखिएको उपन्यास “हिउँको गीत” माथि आज एक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गुरुङ समुदायको जीवन, संस्कृति र संघर्षलाई दस्तावेजीकृत गर्दै प्रस्तुत गरिएको यस उपन्यासमाथि आयोजित विमर्श कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ र बरिष्ठ कवि मनु मञ्जिल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै, साहित्य सर्जक जे.बी. थुलुङ, डा. अश्मिता बिष्ट, अमित थेबे लगायत विश्लेषक वक्ताहरूको सहभागिता थियो।
उक्त अवसरमा वक्ताहरूले “हिउँको गीत” उपन्यास एक साहित्यिक कृति मात्र नभई एक ऐतिहासिक दस्तावेज भएको, उल्लेख गरे । उपन्यास मार्फत गुरुङ समुदायको यथार्थ जीवन र संवेदनालाई प्रभावशाली रूपमा उजागर गरिएको भन्दै लेखक तीर्थ गुरुङलाई विशेष सम्मान समेत व्यक्त गरिएको थियो।
कार्यक्रमको आयोजना सफलतापूर्वक सम्पन्न गराउने सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष साहित्य सर्जक मिश्रा गुरुङले सुनसरी र मोरङका सम्पूर्ण तमु समुदाय (तमुश्यो) लाई धन्यवाद दिईन् ।
यस प्रकारका विमर्शले नेपाली साहित्यमा विविधता र समुदायको पहिचानलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने कुरामा सहभागी सबैले एकमत व्यक्त गरेका थिए।
