सुनसरी–२ कांग्रेस प्रतिनिधि चयनप्रति सभापति सुबेच्छु देवानको आपत्ति, एकलौटी र विधि विपरीत कदम
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ प्रदेश सभा (क) कार्यसमितिले पार्टीभित्र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियालाई लिएर गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र जारी गरेको छ। समितिका सभापति सुबेच्छु देवान राईद्वारा जारी ध्यानाकर्षण पत्रमा पछिल्लो समय ‘सहमति, सहकार्य र एकता’को नाममा पार्टीको लोकतान्त्रिक विधि, प्रक्रिया तथा स्थापित मूल्य-मान्यतालाई कमजोर बनाउने प्रयास भएको भन्दै गम्भीर आपत्ति प्रकट गरिएको छ।
पत्रमा महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन प्रक्रिया सुरु भइसकेपछि सम्पूर्ण उम्मेदवारको उम्मेदवारी विधिवत् रूपमा फिर्ता नभई वा निर्वाचन प्रक्रिया अन्त्य नगरी एकलौटी ढंगबाट प्रतिनिधि चयन गर्न खोजिएको कार्यप्रति विशेष असन्तुष्टि जनाइएको छ। यस्तो कदम लोकतान्त्रिक विधि र प्रक्रियासम्मत हुन नसक्ने भन्दै यसले पार्टीका लागि लामो समयदेखि योगदान गर्दै आएका आम कार्यकर्ताको भावना, मेहनत र राजनीतिक अधिकारलाई उपेक्षा गरेको तथा पार्टीप्रतिको विश्वासमा नकारात्मक असर पार्न सक्ने ठहर गरिएको छ।
साथै, सहमति र एकता कसैको एकल निर्णयबाट नभई सबैको सहभागिता, संवाद, सम्मान र विश्वासबाट मात्र निर्माण हुने विषयलाई जोड दिइएको छ। पार्टीभित्र फरक मत राख्ने अधिकार, छलफल गर्ने अवसर र लोकतान्त्रिक प्रक्रियाबाट निर्णयमा पुग्ने संस्कार नै नेपाली कांग्रेसको मूल पहिचान भएको स्मरण गराउँदै जुनसुकै निर्णय गर्दा सबै उम्मेदवार, प्रतिनिधि तथा कार्यकर्ताको अधिकार र सहभागितालाई सम्मान गर्दै पारदर्शी, निष्पक्ष र विधिसम्मत प्रक्रिया अपनाउन माग गरिएको छ।
अन्त्यमा, सहमति र सहकार्यको वास्तविक मर्मलाई आत्मसात् गर्दै निर्वाचन तथा प्रतिनिधि चयनसम्बन्धी सम्पूर्ण प्रक्रिया विधि, विधान र लोकतान्त्रिक मान्यतानुसार पारदर्शी तथा सहभागितामूलक ढंगले अघि बढाउन सम्बन्धित नेतृत्वको ध्यानाकर्षण गराइएको छ। “लोकतन्त्रको सुन्दरता नै फरक मतको सम्मान, समान अवसर र सबैको सहभागिता हो” भन्दै पत्र समापन गरिएको छ।
