सुनसरी–२ कांग्रेस विवाद: स्थगित मतदान पुनः गराउन माग गर्दै नवीन कटुवाल
गोर्खा खबर । इटहरी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ मा क्षेत्रीय समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद केन्द्रीय निर्वाचन समितिसम्म पुगेको छ। ३५ वर्षमुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका इटहरीका युवा नेता नवीन कटुवालले २०७८ मंसिर १५ गते समितिमा निवेदन दर्ता गराउँदै वैधानिक प्रक्रियाबाट रोकिएको निर्वाचन पुनः सञ्चालन गर्न माग गरेका हुन्।
कटुवालका अनुसार करिब ८० प्रतिशत मतदान भइसकेपछि विवाद उत्पन्न भई निर्वाचन स्थगित भएको थियो। तर, जिल्ला नेतृत्वले स्थगित मतदान पूरा गराउनुको साटो उम्मेदवारहरूको सहमति र क्षेत्रीय प्रतिनिधिहरूको मताधिकारलाई बेवास्ता गर्दै आफूखुसी नाम सिफारिस गर्न खोजेको आरोप उनले लगाएका छन्।
क्षेत्रीय समितिको लेटरप्याड र छापको दुरुपयोग गरी केही व्यक्तिको नाम मात्रै ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि’का रूपमा केन्द्रमा पठाइएको कटुवालको दाबी छ। यसरी प्रक्रिया मिचेर पठाइएका नामावली तत्काल बदर गरी प्रजातान्त्रिक र पारदर्शी ढंगले पुनः निर्वाचन गराउन उनले माग गरेका छन्।
विगत २० वर्षदेखि सुनसरी-२ मा सक्रिय रहँदै आएका र नेता गगन थापा पक्षधर मानिने कटुवालले सहमतिका नाममा आफ्नो नाम हटाइएको बताएका छन्। उनलाई पाखा लगाउन केन्द्रका नेताहरूले सुनसरी क्षेत्र नं. १ का सहदेव काफ्लेको पार्टी सदस्यता हालै क्षेत्र नं. २ मा सारेर महाधिवेशन प्रतिनिधि बनाएको आरोपसमेत उनले लगाएका छन्।
कटुवालले धाँधलीरहित निर्वाचनबाट निर्वाचित हुने पदाधिकारी तथा प्रतिनिधिलाई मात्रै मान्यता दिन केन्द्रीय निर्वाचन समितिसँग आग्रह गरेका छन्। अहिले सुनसरी–२ को विवाद र केन्द्रमा पठाइएको नामावलीका सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले लिने वैधानिक निर्णयलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
