दुर्घटना न्यूनीकरणका लागि धनपुरी युवा समाजद्वारा ५ स्थानमा कन्भेक्स मिरर स्थापना
स्थानीय सरकार वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठ ले धनपुरी युवा समाज का गतिविधिहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
इटहरी । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा विभिन्न अभियान सञ्चालन गर्दै आएको धनपुरी युवा समाज ले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित विभिन्न स्थानमा ५ वटा रोड सेफ्टी कन्भेक्स मिरर स्थापना गरेको छ।
समाजका अनुसार चौतारी चोक, हिमशिखर स्कूल हुँदै बुद्ध चोक जाने सडकखण्ड, दंगल टोल, एकता मार्ग तथा धनपुरी क्षेत्र आसपासका जोखिमयुक्त मोडहरूमा मिरर राखिएको हो । स्थानीयवासीहरूले उक्त कार्यको सकारात्मक रूपमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिरहेका छन् ।
समाजका सदस्य भीम खड्काका अनुसार ती स्थानहरूमा सवारीसाधन आवतजावतका क्रममा दृश्य अस्पष्ट हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको थियो।
समाजका सदस्य सुमन दाहालले आगामी दिनमा पनि विभिन्न सामाजिक गतिविधि तथा परियोजनाहरू पाइपलाइनमा रहेको जानकारी दिए।
उनले युवाहरूको सक्रिय सहभागितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित संस्था अघि बढिरहेको बताए।
त्यस्तै समाजका अर्का सदस्य ओम खड्काले सामाजिक जिम्मेवारी र मानवीय सहयोग हरेक व्यक्तिको जीवनको अभिन्न हिस्सा भएको उल्लेख गर्दै समूहले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास मात्र गरिरहेको बताए।
पछिल्ला दिनहरूमा धनपुरी युवा समाज विशेषगरी इटहरी–१, २, १९ र २० नम्बर वडामा सक्रिय रूपमा सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। यसअघि पनि समाजकै नेतृत्व तथा समन्वयमा दुर्घटना न्यूनीकरणका लागि सडकैमा पुरान लगाउनेदेखि रोड सेफ्टी मार्किङ सामग्री (रोड क्रस) कलर गरिएको थियो।
त्यसैगरी बाइपास प्रयोगलाई सहज बनाउन धानपुरी चोकको मुख्य सडक छेउको पार्किङ क्षेत्रमा आफ्नै खर्चमा एक्साभेटर प्रयोग गरी सडक सम्याउने कार्य समेत गरिएको थियो।
युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न फुटसल तथा स्नुकर जस्ता गतिविधिमा संलग्न गराउनुका साथै तरहरा रन, तरहरा उत्सव लगायत विभिन्न प्रमुख कार्यक्रमहरूमा प्रायोजन तथा स्वयंसेवी सहकार्य गर्दै आएको समाजले जनाएको छ।
स्थानीय सरकार वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठ ले धनपुरी युवा समाज का गतिविधिहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
उनले विकास केवल सरकारबाट मात्र नभई हरेक नागरिक र समुदाय यसरी अघि आए विकासले गति लिने बताएका छन्।
