भेडेटारका पर्यटन व्यवसायीको गुनासो: ‘न नियमित बत्ती छ, न धारामा पानी’
भेडेटार, १९ वैशाख । पूर्वको प्रमुख पर्यटकीय गन्तव्य एवं ‘पर्यटनको मुटु’ मानिने भेडेटारका व्यवसायीहरूले आधारभूत पूर्वाधारको चरम अभाव भोग्नुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। ठूलो लगानीमा होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहे पनि सरकारले न्यूनतम सुविधा समेत उपलब्ध नगराएको भन्दै व्यवसायीहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।
भेडेटारस्थित प्रिमियर हाइडवे होटल तथा चौतारी भेज रेस्टुरेन्टका सञ्चालक एवं DECC नेपाल प्रालिका अपरेसन म्यानेजर सुनिल भुसालले भेडेटारको वास्तविक अवस्थाले यहाँ व्यवसाय सञ्चालन गर्न कति कठिन छ भन्ने प्रस्ट पारेको बताएका छन् ।
व्यवसायी भुसालका अनुसार, पर्यटकको बाक्लो उपस्थिति रहने भेडेटारमा नियमित विद्युत आपूर्ति नहुनु र धारामा पर्याप्त पानी नआउनु मुख्य समस्या हो ।
“यति धेरै संख्यामा पर्यटकीय संरचनाहरू हुँदा पनि बत्ती र पानी जस्ता आधारभूत आवश्यकताको अभाव हुनु निकै दुःखद विषय हो ।”, उनी थप्छन्, “लामो समयदेखि यी समस्याहरू यथावत् रहनुले सम्बन्धित निकायले यस क्षेत्रलाई बेवास्ता गरेको महसुस भएको छ ।”
पर्यटन प्रवर्द्धनका कुरा भाषणमा मात्र सीमित हुनु र व्यवहारमा समस्या समाधान नहुनुले लगानीकर्ताहरू हतोत्साहित भइरहेका, उनको भनाई छ ।
व्यवसायीहरूले भेडेटारलाई साँच्चै पर्यटकीय हब बनाउने हो भने तत्काल यी समस्याहरू समाधान गर्न माग गरेका छन्। पर्यटन क्षेत्रबाट राज्यले ठूलो राजस्व संकलन गरे पनि लगानीको तुलनामा सेवा सुविधा शून्यप्रायः रहेको व्यवसायीहरूको गुनासो छ।
प्रिमियर ग्लोबल स्कुलका समेत सञ्चालक रहेका भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी निकायहरूलाई झक्झकाउँदै भेडेटारको विकासका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको छ। यदि आधारभूत समस्याहरू तत्काल हल नगरिए भेडेटारको पर्यटन व्यवसाय नै संकटमा पर्न सक्ने चेतावनी समेत व्यवसायीहरूले दिएका छन्।
