३१औं विश्व आदिवासी दिवसको अवसरमा इटहरीमा भव्य झाँकी र्याली तथा साँस्कृतिक कार्यक्रम हुने
छिरिङ शेर्पा, इटहरी | २०८२ साउन २४ गते
“प्राकृतिक स्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP 2007 र ILO 169 सम्बन्धि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नाराका साथ ३१औं विश्व आदिवासी दिवसको विशेष अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर समन्वय परिषद्को आयोजनामा भव्य झाँकी र्याली तथा साँस्कृतिक कार्यक्रम २०८२ साउन २४ गते शनिबारका दिन इटहरीमा आयोजना हुने भएको छ।
कार्यक्रम अन्तर्गत बिहान १०:०० बजे इटहरी–६, स्थित संगीत चौकबाट झाँकी र्याली सुरु भई नगर परिक्रमा गर्ने र पश्चिम लाइनको म्याजिक स्टेण्डमा बिहान ११:०० बजेदेखि औपचारिक साँस्कृतिक कार्यक्रम सुरु हुने मूल आयोजक समितिका संयोजक चन्द्रबहादुर गोम्देनले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक पहिचान झल्कने भेषभूषा प्रदर्शनी, साँस्कृतिक नृत्य, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान गर्ने जस्ता विविध कार्यक्रमहरू आयोजना गरिने पनि उहाँले बताउनुभयो।

यसैबीच, नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिरहाङ राईले हालै मात्र सर्वोच्च अदालतबाट आएको निर्देशन अनुसार संयुक्त राष्ट्रसंघले पारित गरेको UNDRIP 2007 र ILO 169 सम्बन्धि अन्तर्राष्ट्रिय कानुनलाई संघ, प्रदेश र स्थानीय तीनवटै तहले अक्षरसः पालना गर्नु पर्ने कुरामा कार्यक्रम केन्द्रीत हुने जानकारी दिनुभयो।
समुदायबीचको एकता, पहिचान, संस्कृति र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिएको यस कार्यक्रममा संपूर्ण नागरिक, समुदाय प्रतिनिधि, जातीय संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, कलाकारहरू लगायत सम्पूर्ण इटहरीवासीहरूलाई सहभागिता जनाउन आयोजकले निमन्त्रणा गरेका छन्।
Ask ChatGPT
