तरहरा, सुनसरी — असार २८, शनिवार
तरहरामा सञ्चालन हुँदै आएको नियमित दौड कार्यक्रम ‘तरहरा रन’ ले आफ्नो १०० औं हप्ता सफलतापूर्वक सम्पन्न गरेको छ। यो नियमित दौड कार्यक्रम तरहराको सर्वाधिक जनप्रिय र सहभागितायुक्त आयोजनाका रूपमा परिचित भइसकेको छ।
शनिवार विशेष कार्यक्रमको आयोजना गरी १०० औं हप्ताको उत्सव खुसीपूर्वक मनाइएको थियो। सो अवसरमा ईटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ, वडा नं. २ की वडा अध्यक्ष सुन्दरदेवी, शान्तिनगरका वडा अध्यक्ष माधव कोईराला, प्रहरी चौकी तरहराका प्रमुख प्र.ना.नि. टिका प्रसाद नेपाल तथा ट्राफिक प्रहरी पोष्ट तरहराका प्रमुख प्र.स.नि. नारायण प्रसाद लुईटेल लगायत स्थानीय समाजसेवी, खेलप्रेमी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
तरहरा रनका अध्यक्ष शिव रुम्दाली बायुङ राईले यो सय हप्तासम्मको यात्रा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण धावकधाविका, अभिभावक, शुभेच्छुक र समर्थकहरूलाई तरहरा रन परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्।
यो कार्यक्रमले स्वास्थ्य, सामुदायिक एकता र सकारात्मक सामाजिक संजाल निर्माणमा उल्लेखनीय भूमिका खेलेको आयोजकको भनाइ छ।
तस्वीर : किशोर पराजुली, कोषाध्यक्ष, तरहरा रन
