नेपाली सेनाका जवान तरहराका प्रभाकर दंगाल बेपत्ता
चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण रसुवा जिल्लामा व्यापक धनजनको क्षति भएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्ज र विभिन्न जलविद्युत आयोजनाको सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीहरू बाढीपछि सम्पर्कविहीन भएका छन्।
उद्धारका लागि विभिन्न टोलीहरू खटिए तापनि बाटो र पुलहरू ध्वस्त भएका कारण खोजी कार्य जटिल बनेको छ।
यसै क्रममा रसुवामा कार्यरत इटहरी उपमहानगरपालिका वडा नं. १९ तरहरा निवासी नेपाली सेनाका जवान प्रभाकर दंगाल पनि बाढीपछि बेपत्ता हुनुभएको छ।
इटहरी १९ का वडा अध्यक्ष श्रीनारायण चौधरीले दंगालको परिवारसँग भेटघाट गरी वस्तुस्थिति र परिवारको अवस्थाबारे जानकारी लिनुभएको छ।
वडा अध्यक्ष चौधरी र दंगालका परिवारजनले अत्यन्त चिन्तित हुँदै उहाँकोबारे कुनै जानकारी वा सुइँको पाएमा नजिकैको सुरक्षा निकाय वा परिवारलाई तुरुन्त सम्पर्क गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।
(इजरायलबाट समाजसेवी सुनील श्रेष्ठबाट प्राप्त जानकारीको आधारमा गोर्खा खबरले स्मबन्धितसॅग जानकारी लिएर यो समाचार तयार पारेको हो ।)
