प्राकृतिक विपत्तिप्रति एप्पल ट्री मोन्टेसरीको ऐक्यबद्धता, राहत कोषमा सहयोग
इटहरी–२०, तरहरा । पछिल्लो समय रुसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति एप्पल ट्री मोन्टेसरी बेस्ड स्कुल, इटहरी–२०, तरहराले गहिरो दुःख व्यक्त गर्दै सहयोग तथा ऐक्यबद्धता जनाएको छ।
विद्यालयले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते, विस्थापित, सम्पर्कविहीन तथा विपद्बाट प्रभावित परिवारप्रति विद्यालय परिवारले सहानुभूति प्रकट गरेको छ।
विपद्को यस कठिन समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले एप्पल ट्री मोन्टेसरी बेस्ड स्कुलले हाललाई २० हजार सहयोग गरेको जनाएको छ। विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग उपलब्ध गराएको जनाएको छ। स्कूलका निर्देशक सन्तोष कट्वालले स्कूलका कर्मचारी, अभिभावक एवम् शुभेच्छुकबाट थप रकम सहयोग हुने, गोर्खा खबरलाई फोन मार्फत जानकारी गराएका छन् ।
विद्यालयकी प्रधानाध्यापक चन्द्रकला घिमिरेले विपद्को समयमा राहत र उद्धार केवल सरकार वा कुनै एक संस्थाको जिम्मेवारी नभई सम्पूर्ण नेपाली समाजको साझा दायित्व भएको बताएकी छन्।
उनले बालबालिकालाई विपद्का कारण शिक्षा, सुरक्षित वातावरण तथा आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित हुन नदिन सबै पक्षलाई सहयोगका लागि आग्रह गरेकी छन्। विद्यालयले प्रभावित बालबालिकाको शिक्षा निरन्तरताका लागि आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
“शिक्षा प्रदान गर्ने संस्था मात्र नभई मानवता, करुणा, सहकार्य, सामाजिक उत्तरदायित्व र नागरिक चेतना विकास गर्ने शैक्षिक समुदाय हुनु हाम्रो दृढ विश्वास हो,” विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विद्यालयले विपद्को समयमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैमा आग्रह गरेको छ।

