तरहरा (इटहरी) | गोर्खा खबर
भदौ ६ र ७ गते धनपुरी युनिटीको आयोजनामा भएको प्रथम नगरस्तरीय फुटसल प्रतियोगिताको फाइनलमा कसले जिते ५१ हजार नगद ?
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट एरिना स्पोर्ट्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तरहरा फिटनेशले रु. ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता एरिना स्पोर्ट्सले रु. ३१ हजार नगदसहित ट्रफी प्राप्त गर्यो।
उपाधि कब्जा गरेपछि तरहरा फिटनेसले खुला छत (ओपन-टप) गाडीमा टोलीसहित भव्य विजय र्याली निकाले । धनपुरी हुँदै तरहरा चोक तथा मुख्य बजार क्षेत्रमा उत्साहजनक नाराबाजी र खुसीयाली मनाउँदै परिक्रमा गरेपछि फिटनेस परिसरमा पुगेर खेलाडीहरूलाई सम्मान प्रदान गरियो ।

प्रमुख अतिथी नेपाल तरूण दलका सुनसरी सभापति सीजन गुरुङले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे भने अन्य अतिथीले बेस्ट गोल किपर र सर्वाधिक गोलकर्तालाई नगदसहितको पुरस्कार प्रदान गरे ।
संस्थाका अध्यक्ष खगेन्द्र खड्काको अध्यक्षतामा भएको पुरस्कार वितरण र समापन समारोहमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा कार्यक्रम संयोजक अनन न्यौपानेले सहभागी टोली, खेलाडी, रेफ्री, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे।
संस्थाका अध्यक्ष खगेन्द्र खड्काले इटहरीमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।
सचिव ओम (ओमकुमार) खड्काले भने, “खेलकुद र विभिन्न रचनात्मक कार्यक्रमको माध्यमबाट धनपुरी टोलको पहिचान बढाउने, समुदायलाई एकजुट बनाउने र स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। धनपुरीका स्थानीय संघ-संस्था, व्यवसायी, विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनी र स्थानीय बासिन्दाको सक्रिय सहभागिता एवम् अतुलनीय सहयोगबाट नै यो कार्यक्रम भव्य रूपमा सफल भएको छ।”
