राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको दुईदिने अचार बनाउने तालिम इटहरीमा सम्पन्न

0
b6b0879b-2199-4e96-ae3c-aeab85a2bee6

इटहरी  । आदिवासी जनजाति महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ सुनसरीको इटहरीमा सञ्चालित दुई दिने अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, प्रदेश कार्यसमिति, कोशी प्रदेशको आयोजनामा इटहरी–५ स्थित सुम्निमा भवनमा उक्त विशेष तालिम आयोजना गरिएको हो। परम्परागत सीपलाई आधुनिक व्यवसायसँग जोड्ने लक्ष्य राखिएको यस कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तालिम अवधिभर सहभागीहरूलाई अचार उत्पादनको गुणस्तर कायम राख्ने, सही तरिकाले प्याकेजिङ गर्ने तथा बजार व्यवस्थापनका आधारभूत पक्षहरूबारे विस्तृत रूपमा सिकाइएको थियो।

तालिमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै संगीता राईले विभिन्न प्रकारका स्वादिला र बजारयोग्य अचार बनाउने व्यावहारिक सीप प्रदान गर्नुभएको थियो। उहाँले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर कसरी व्यावसायिक रूपमा अगाडि बढ्न सकिन्छ भन्नेबारे सहभागीहरूलाई प्रष्ट पार्नुभयो।

प्रशिक्षक नबिन गुरुङ (गुरुङ सोल्टी) ले एआई (Artificial Intelligence) को प्रयोगमार्फत बजार प्रवर्द्धन तथा डिजिटल मार्केटिङ सीप विषयमा प्रशिक्षण प्रदान गर्नुभयो। गुरुङले डिजिटल युगमा उत्पादनको ब्रान्डिङ कसरी गर्ने, सामाजिक सञ्जाल (फेसबुक, टिकटक आदि) को माध्यमबाट ग्राहकसम्म कसरी पुग्ने उपायहरू बारे व्यावहारिक ज्ञान बाँड्नुभएको थियो।

तालिमको समापन समारोह मञ्चकी अध्यक्ष माया बान्तावा दिवालुङ खाम्बेनको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मिश्रा गुरुङले गर्नुभएको थियो।

समापनको अवसरमा बोल्दै अध्यक्ष माया बान्तावाले यो २ दिने तालिम महिलाहरूको आर्थिक सशक्तीकरणका लागि निकै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अब सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्न सम्पूर्ण सहभागी महिलाहरूलाई विशेष जोड दिनुभयो।

तालिमको अन्त्यमा सहभागीहरूको मनोबल र उत्साहलाई थप उच्च बनाउनका लागि उनीहरूले नै तालिमका क्रममा तयार पारेका विभिन्न स्वादका अचारहरू उपहारस्वरूप वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *