गृहमन्त्री सुदन गुरूङ बारेको हल्लाको खेती: ‘मिडिया ट्रायल’ सक्रियताबाट अत्तालिएका हाईप्रोफाईल

0

पछिल्ला घटनाक्रमलाई नजिकबाट नियाल्दा, गृहमन्त्रीले चाल्नुभएका साहसिक कदमहरूले ठूला गिरोहहरूको स्वार्थमा धक्का लागेको देखिन्छ। सोही आक्रोशलाई ‘कपोलकल्पित समाचार’ मार्फत पोख्ने र मन्त्रीलाई नैतिक दबाबमा पारेर अनुसन्धानहरू कमजोर बनाउने खेल भइरहेको छ।

Sudhan Gurung

काठमाडौँ — नेपालको गृह प्रशासनमा ‘एक्सन ओरिएन्टेड’ र युवा जोशका साथ उदाउनुभएका गृहमन्त्री सुदन गुरूङको बढ्दो सक्रियतासँगै उहाँविरुद्धका घेराबन्दीहरू पनि तीव्र बनेका छन् ।

पदभार सम्हालेदेखि नै दिन-रात नभनी बेथिति सुधार्न र ‘हाई-प्रोफाइल’ काण्डहरूको जरोसम्म पुग्न सक्रिय देखिएका मन्त्री गुरूङलाई पछिल्लो समय सेयर लगानीको विषयलाई लिएर विवादमा तान्ने प्रयास गरिएको छ ।

विशेषगरी लामो समयदेखि शक्ति केन्द्रको आडमा शासन गरिरहेका समूहहरू मन्त्री गुरूङको निसानामा पर्न सक्ने डरले अत्तालिएपछि, केही ‘पूर्वाग्रही’ सञ्चारमाध्यम र राजनीतिक स्वार्थ समूहहरूले उहाँको चरित्र हत्या गर्ने उद्देश्यले ‘मिडिया ट्रायल’ सुरु गरेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

उहाँमाथि लगाइएको “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपलाई मन्त्री गुरूङले तथ्यगत रूपमै खण्डन गरिदिनुभएको छ । मन्त्रिपरिषद्को वेबसाइटमा पहिले नै सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको धितोपत्र लगानी स्पष्ट उल्लेख गरेको व्यक्तिले २५ लाख लुकाउन खोज्नु आफैँमा हास्यास्पद र तर्कहीन देखिन्छ ।

स्टार माइक्रो र लिबर्टी माइक्रो जस्ता कम्पनीको लगानीलाई सोही २ करोडको प्याकेजभित्रै वर्गीकरण गरिएको र सबै कारोबार बैंकिङ च्यानलमार्फत पारदर्शी रूपमा भएको प्रमाणले पनि यो आरोप ‘हवा’ मात्र भएको पुष्टि गर्छ ।

यति मात्र होइन, मन्त्री हुनुअघि नै ऋण (कर्जा) मार्फत गरिएको कानुनी लगानीलाई अहिले आएर बिचौलियासँगको सम्बन्धका रूपमा व्याख्या गर्नु सस्तो पत्रकारिताको पराकाष्ठा हो, जसलाई सचेत जनताले स्पष्ट रूपमा बुझिसकेका छन्।

पछिल्ला घटनाक्रमलाई नजिकबाट नियाल्दा, गृहमन्त्रीले चाल्नुभएका साहसिक कदमहरूले ठूला गिरोहहरूको स्वार्थमा धक्का लागेको देखिन्छ। सोही आक्रोशलाई ‘कपोलकल्पित समाचार’ मार्फत पोख्ने र मन्त्रीलाई नैतिक दबाबमा पारेर अनुसन्धानहरू कमजोर बनाउने खेल भइरहेको छ। तर, शहीदको बलिदान र ‘जेनजी’ (Gen-Z) आन्दोलनको मर्म बोकेर आएको नेतृत्वलाई यस्ता सस्तो राजनीतिक र ‘झोले पत्रकारिता’ ले फरक नपार्ने संकेत मन्त्री गुरूङको पछिल्लो अडानले दिएको छ।

उहाँले सम्पत्ति शुद्धीकरण विभागको छानबिनमा आफूबाट कुनै हस्तक्षेप नहुने र पार्टीको निर्णय शिरोधार्य गर्ने घोषणा गरेर आफ्नो उच्च नैतिक धरातल प्रस्तुत गर्नुभएको छ। अन्ततः, प्रमाणभन्दा हल्लाको पछि कुद्ने तत्वहरूका लागि यो स्पष्टीकरण एक दह्रो जवाफ बनेको छ ।

‘सम्पत्ति लुकाएको होइन, वर्गीकरण मात्र फरक हो’, गृहमन्त्री सुदन गुरूङ

काठमाडौँ – गृहमन्त्री सुदन गुरूङले पछिल्लो समय आफ्नो सेयर लगानीलाई लिएर सार्वजनिक भएका आरोपहरूबारे औपचारिक स्पष्टीकरण दिँदै आफूले कुनै पनि सम्पत्ति नलुकाएको दाबी गर्नुभएको छ। “२५ लाखको सेयर लुकाइएको” भनी लगाइएको आरोपमाथि प्रस्ट पार्दै उहाँले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको धितोपत्र लगानी स्पष्ट उल्लेख गरिएको जानकारी दिनुभयो। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी सोही २ करोडको प्याकेजभित्रै समेटिएको र यो सम्पत्ति लुकाउने नियत नभई प्राविधिक वर्गीकरणको विषय मात्र भएको उहाँको तर्क छ। २ करोडभन्दा बढी सम्पत्ति सार्वजनिक रूपमा देखाउने व्यक्तिले २५ लाख लुकाउनुको कुनै तर्क नरहने भन्दै उहाँले आरोपको खण्डन गर्नुभयो।

लगानीको स्रोत र समयका बारेमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरूङले मन्त्री हुनुअघि नै बैंकिङ च्यानलमार्फत पारदर्शी रूपमा सेयर खरिद गरिएको बताउनुभयो। उहाँका अनुसार उक्त लगानीका लागि २०८० भदौ २९ गते गरिएको लिखित तमसुक बमोजिम कर्जा लिइएको थियो र त्यसको सबै रेकर्ड बैंकमा सुरक्षित छ। विवादित व्यक्तिहरूसँगको साझेदारीका बारेमा बोल्दै उहाँले एउटै कम्पनीमा सयौँ सेयरहोल्डर हुने र सेयर किन्नुलाई नै व्यक्तिको पृष्ठभूमि वा नियतसँग जोडेर हेर्नु न्यायोचित नहुने उल्लेख गर्नुभयो। कम्पनीमा अन्य प्रतिष्ठित मिडिया हाउस र बैंकहरूको समेत लगानी रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सेयरहोल्डर हुनु आफैँमा अपराध नभएको जिकिर गर्नुभयो।

यसैगरी, स्वार्थको द्वन्द्व (Conflict of Interest) को आरोपबारे स्पष्ट पार्दै उहाँले यस विषयमा गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागले स्वतन्त्र रूपमा छानबिन गरिरहेको र त्यसमा आफ्नो कुनै हस्तक्षेप नरहेको बताउनुभयो। आफूले कुनै पनि प्रक्रियामा प्रभाव पारेको भए छानबिन नै अघि नबढ्ने तर्क गर्दै उहाँले कानुनी संवेदनशीलताका कारण प्रतिक्रिया दिन केही ढिलाइ भएको स्वीकार गर्नुभयो। अन्त्यमा, व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतो भनी राजनीतिकरण नगर्न आग्रह गर्दै उहाँले शहीदहरूको बलिदान र नयाँ पुस्ताको आन्दोलनको मर्म आत्मसात् गरी पार्टीले गर्ने जुनसुकै निर्णय र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *