मोरङ: मोरङको कानेपोखरी गाउँपालिकाभित्रका घरबारविहीन र अति विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। सहारा नेपाल र ह्याविट्याट नेपालको सहकार्यमा गाउँपालिकाले निर्माण गरेको ४१ वटा घर शनिबार हस्तान्तरण गरिएको हो।
गाउँपालिकाले वडा नम्बर १ को झरनाघुटुमा ११ घर र वडा नम्बर ३ को छाता चोकको कोलटोलमा ३० घर गरी कुल ४१ वटा घर निर्माण गरेको थियो। यी घरहरू निर्माणका लागि कुल २ करोड २८ लाख १ हजार ३३० रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। प्रति घर निर्माण लागत ५ लाख ५६ हजार १३० रुपैयाँ रहेको छ।
नवनिर्मित घरहरू मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारीलगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै सभापति पोखरेलले घरबारविहीनलाई आवास उपलब्ध गराउने यो कार्य सराहनीय भएको बताए। उनले स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको सहकार्यले मात्र यस्ता सामाजिक कामहरू सफल हुनेमा जोड दिए।
गाउँपालिका अध्यक्ष इङ्नामले घर पाउने परिवारको जीवनमा यसले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्। उनले भविष्यमा पनि विपन्न वर्गको उत्थानका लागि यस्ता कार्यक्रमहरू निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरिन्।
आवास हस्तान्तरणपछि घर पाउने परिवारहरूले खुसी व्यक्त गरेका छन्।

