इटहरी । गोर्खा खबर
विश्व बन्धुत्व दिवसको पावन अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाडौंको आयोजना तथा केन्द्रको इटहरीस्थित शाखाको पहलमा रक्तदान अभियान सम्पन्न भएको छ । इटहरी–२० तरहराको सभाहलमा आयोजित यस पुण्य कार्यमा कुल ८८ जनाले रक्तदान गरेका छन् ।
अभियान राजयोगिनी दादी प्रकाशमणिको ९८ औं पुण्यतिथिको अवसरमा आयोजना गरिएको हो ।
पूर्व जननिर्वाचित वडा सदस्य तथा राजयोग केन्द्रकी सदस्य राधा सुवेदी घिमिरेले जानकारी दिनुभएअनुसार, यस रक्तदान अभियानको मुख्य लक्ष्य गम्भीर बिरामी वा जीवन-मरणको दोसाँधमा पुगेका व्यक्तिहरूलाई जीवनदान प्रदान गर्नु हो ।
यसका साथै, अभियानले समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको घिमिरेले बताउनुभयो ।
केन्द्रका संस्थापक शम्भु केःशीका अनुसार, ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५५ वर्षदेखि नेपालमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई प्रवर्द्धन गर्दै आएको छ ।
यसले आध्यात्मिक, नैतिक र मानवीय मूल्यहरूको पुनर्स्थापनाका लागि निरन्तर सामाजिक–आध्यात्मिक कार्यहरू गरिरहेको छ ।
इटहरीका वडा नम्बर १, २, ७, १० र २० बाट रक्तदान गर्न आएका, केशीले जानकारी दिनुभयो ।
केन्द्रको दाबीअनुसार, यसले नेपालभरि १ लाखभन्दा बढी मानिसलाई धूम्रपान, मद्यपान र लागू पदार्थको लतबाट मुक्त हुन सहयोग गरेको छ ।
रक्तदान अभियानले केन्द्रको मानव कल्याणकारी कार्यलाई थप उचाइमा पुर्याएको छ ।

तस्वीर सौंजन्यः धर्म गिरी । उहाँ इटहरी उपमहानगरपालिकाकी जननिर्वाचित वडा सदस्य तथा केन्द्रका सदस्य हुनुहुन्छ ।
