इटहरी, साउन ३०, २०८२ – इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले वर्षायामको जोखिमबाट बच्न नगरवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै वर्षाले ल्याउने सम्भावित समस्याहरूबाट सचेत रहन आग्रह गरेका हुन्।
मेयर पौडेलले वर्षायाममा हिलो, पानी, चिप्लो बाटो, बाढीको जोखिम र विभिन्न रोगको खतरा बढ्ने भन्दै नगरवासीलाई अनावश्यक यात्रा नगर्न सुझाएका छन्। उनले छाता, रेनकोट र उपयुक्त जुत्ता लगाएर मात्र घरबाहिर निस्कन र खोलानाला, पुल तथा चिप्लो बाटोमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
सन्देशमा उनले वडा कार्यालयहरूबाट समयमै काम नभएको र साना कामका लागि पनि नगरपालिकामै आउनुपर्ने बाध्यताप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। उनले वर्षाको समयमा यस्तो यात्रा थप कष्टकर हुने कुरा आफूले बुझेको उल्लेख गर्दै नगरवासीको असुविधाप्रति क्षमा मागेका छन्।
यसका साथै, मेयर पौडेलले नगरवासीलाई इटहरीका भित्री सडकहरूको अवस्था वा अन्य समस्याबारे सभ्य भाषामा भिडियो वा फोटो खिचेर उपमहानगरपालिकाको आधिकारिक ह्वाट्सएप नम्बर ९८५२०४८६८८ मा पठाउन आग्रह गरेका छन्। उनले नगरवासीको सहयोग र सचेतताले मात्र सुरक्षित र सफा इटहरी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

