नेपाल लोकतान्त्रिक खेलकुद संघ सुनसरीको प्रथम अधिवेशन सम्पन्न, गोपाल राई (कालुराम) सर्वसम्मत अध्यक्ष चयन
इटहरी–तरहरा | २०८२ साउन २४ गते
नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला समिति सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट गोपाल राई (कालुराम) सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
इटहरी उपमहानगरपालिका–२०, तरहरामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस सुनसरी जिल्ला अध्यक्ष केदार भण्डारी प्रमुख अतिथि थिए। विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा महासमिति सदस्य सिजन गुरुङ, नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य तथा निर्वाचन प्रतिनिधि अभिषेक श्रेष्ठ, संघका केन्द्रीय सदस्य दीपक राई, ANFA कोशी प्रदेश अध्यक्ष किशोर राई, नेपाल तरुण दल सुनसरी उपाध्यक्ष दिलकुमार राई, संघको कोशी प्रदेश महासचिव अनुरोध थापा, नेपाल तमु गुरुङ संघ कोशी प्रदेश संयोजक दिव्यराज गुरुङ लगायतका अतिथिहरुको उपस्थीति थियो ।
कार्यक्रमको सञ्चालन संघ कोशी प्रदेश सदस्य तथा इटहरी कांग्रेसका कार्यवाहक अध्यक्ष कोबिद जङ कार्कीले गरेका थिए।
यसअघि संघका तत्कालीन अध्यक्ष देवेन्द्र बास्तोलाको कार्यसमिति निष्क्रिय रहँदा समयमै अधिवेशन हुन नसकेको र त्यसपछि केन्द्रीय समितिबाट केन्द्रीय सदस्य अभिषेक श्रेष्ठलाई केन्द्र प्रतिनिधिको रूपमा अधिवेशन सम्पन्न गर्न पठाइएको स्रोतको भनाइ छ। बास्तोला समेतको सहमतिमा अधिवेशन गरिएको स्पष्ट गरिएको छ।
निर्वाचित अध्यक्ष गोपाल राईले गोर्खा खबरसँगको मोबाईल वार्तामा भने, “संघभित्र कुनै मतभेद छैन, हामी सबै एकढिक्का भएर सक्रिय हुने छौं। सहमति र सहकार्यका आधारमा विधिसम्मत रूपमा खेलाडीको हितमा संघलाई अघि बढाउने छु।”
उनले आगामी दिनमा खेलाडीहरूको उज्जवल भविष्य सुनिश्चित गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने, खेलाडीहरूको संरक्षण, प्रोत्साहन, र सशक्तिकरणमा केन्द्रित रहने प्रतिबद्धता जनाएका छन्।
राईले भने, “कांग्रेसको कान्छो भातृ संगठनको जिल्ला नेतृत्व गर्नु पाउनु गर्वको कुरा हो। अग्रजहरूले विश्वास गरेर दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गर्दै सबैलाई सन्तुष्ट बनाउनतर्फ लाग्ने छु।”
उक्त अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै सुनसरी जिल्लामा लोकतान्त्रिक खेलकुद संघले नयाँ ऊर्जा र संरचनाका साथ काम अघि बढाउने विश्वास लिइएको छ।


