इटहरीको ट्याङ्ग्रा खोलाले लियो दुई साना जीवन
इटहरी, ५ साउन । गोर्खा खबर
इटहरी उपमहानगरपालिका–२ मा अवस्थित ट्याङ्ग्रा खोलामा आइतबार दिउँसो खेल्न गएका दुई बालकको अकालमै ज्यान गएको दुःखद समाचार छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर गम्भीर अवस्थामापुगेका ११ वर्षीय क्रिश्वास लिम्बु र ८ वर्षीय दिप्सन चौधरीको उपचारकै क्रममा निधन भएको हो।
इटहरी उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष माधव कोइरालाका अनुसार, क्रिश्वास लिम्बुको घर संखुवासभाको चैनपुर नगरपालिका–१ मा भए पनि उनी हाल इटहरीमै बस्दै आएका थिए भने दिप्सन चौधरी इटहरी–३ का स्थानीय बालक हुन्।
उनका अनुसार, दुवै जनालाई तत्काल उद्धार गरेर अस्पताल पुर्याइए पनि दुर्भाग्यवश उनीहरूको जीवन जोगाउन सकिएन। क्रिश्वासलाई विराट मेडिकल कलेज, विराटनगर लगिएको थियो भने दिप्सनलाई नोबेल अस्पताल, विराटनगर पुर्याइएको थियो।
साथीसँगको रमाइलो पलमै ज्यान गुमाउनु परेपछि परिवार, समाज र स्कूलमा शोकको छायाँ परेको छ।
कार्यवाहक नगर प्रमुख मणिराम श्रेष्ठले जनाएअनुसार, इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। यस घटनाले बालबालिकाको सुरक्षा, अभिभावकीय सतर्कता र खुला स्थानमा देखिएको जोखिमबारे गम्भीर बहस उठाएको छ।
घट्नास्थलमा कार्यवाहक नगर प्रमुख मणिराम श्रेष्ठ, वडा नं. २ का अध्यक्ष कोईराला र ३ का वडा अध्यक्ष उमेश सुबेदी निरिक्षणका लागि पुगेका थिए ।

कार्यवाहक मेयरको चिन्ताः “खुला खोलामा बालबालिकाको पहुँच रोक्न उपाय खोज्नुपर्छ”
यसैबिच, घट्नास्थलमा पुगेका कार्यवाहक नगर प्रमुख मणिराम श्रेष्ठले गोर्खा खबर र सोल्टी टिभीसँग कुरा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । उनले खोलाजस्तो असुरक्षित स्थानमा बालबालिकाको पहुँच नियन्त्रण गर्न रणनीति तय गर्नुपर्ने बताए । इटहरी उपमहानगरपालिका–२ र ३ को सिमाना पर्ने ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा आइतबार दुई बालकको ज्यान गएको घटनाले स्थानीय प्रशासनलाई गहिरो सोचमा पारेको हो ।
उक्त घटनामा संखुवासभा चैनपुर–१ निवासी (हाल इटहरीमा बसोबास गर्दै आएका) ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरीको अकाल मृत्यु भएको थियो ।
“बालबालिका रमाइलो र खेलकुदका क्रममा ज्यान गुमाउनु अत्यन्त दुखद हो,” कार्यवाहक मेयर श्रेष्ठले गोर्खा खबरसँग प्रतिक्रिया दिंदै भने, “अब हामी यस्ता जोखिमयुक्त स्थानमा चेतनामूलक संकेत बोर्ड, विद्यालयस्तरमा सचेतना कार्यक्रम र अभिभावकसँग समन्वय गरेर सुरक्षात्मक पहलमा लाग्नेछौं।”
दुबै बालकलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा ज्यान जोगाउन सकिएन। क्रिश्वासलाई विराट मेडिकल कलेज र दिप्सनलाई नोबेल अस्पताल लगिएको थियो।
इलाका प्रहरी कार्यालय इटहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। कार्यवाहक मेयर श्रेष्ठले शोक व्यक्त गर्दै दुस्खी परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
