कार्यवाहक मेयरको चिन्ताः “खुला खोलामा बालबालिकाको पहुँच रोक्न उपाय खोज्नुपर्छ”

0

“अब हामी यस्ता जोखिमयुक्त स्थानमा चेतनामूलक संकेत बोर्ड, विद्यालयस्तरमा सचेतना कार्यक्रम र अभिभावकसँग समन्वय गरेर सुरक्षात्मक पहलमा लाग्नेछौं।” – कार्यवाहक नगर प्रमुख मणिराम श्रेष्ठ

Maniram Shrestha Acting Mayor 72dpi

इटहरी, ५ साउन । गोर्खा खबर

इटहरी उपमहानगरपालिका–२ मा अवस्थित ट्याङ्ग्रा खोलामा आइतबार दिउँसो खेल्न गएका दुई बालकको अकालमै ज्यान गएको दुःखद समाचार छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर गम्भीर अवस्थामापुगेका ११ वर्षीय क्रिश्वास लिम्बु र ८ वर्षीय दिप्सन चौधरीको उपचारकै क्रममा निधन भएको हो।

घट्नास्थलमा पुगेका कार्यवाहक नगर प्रमुख मणिराम श्रेष्ठले गोर्खा खबर र सोल्टी टिभीसँग कुरा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । उनले खोलाजस्तो असुरक्षित स्थानमा बालबालिकाको पहुँच नियन्त्रण गर्न रणनीति तय गर्नुपर्ने बताए । इटहरी उपमहानगरपालिका–२ र ३ को सिमाना पर्ने ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा आइतबार दुई बालकको ज्यान गएको घटनाले स्थानीय प्रशासनलाई गहिरो सोचमा पारेको हो ।

उक्त घटनामा संखुवासभा चैनपुर–१ निवासी (हाल इटहरीमा बसोबास गर्दै आएका) ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरीको अकाल मृत्यु भएको थियो ।

“बालबालिका रमाइलो र खेलकुदका क्रममा ज्यान गुमाउनु अत्यन्त दुखद हो,” कार्यवाहक मेयर श्रेष्ठले गोर्खा खबरसँग प्रतिक्रिया दिंदै भने, “अब हामी यस्ता जोखिमयुक्त स्थानमा चेतनामूलक संकेत बोर्ड, विद्यालयस्तरमा सचेतना कार्यक्रम र अभिभावकसँग समन्वय गरेर सुरक्षात्मक पहलमा लाग्नेछौं।”

दुबै बालकलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा ज्यान जोगाउन सकिएन। क्रिश्वासलाई विराट मेडिकल कलेज र दिप्सनलाई नोबेल अस्पताल लगिएको थियो।

इलाका प्रहरी कार्यालय इटहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। कार्यवाहक मेयर श्रेष्ठले शोक व्यक्त गर्दै दुस्खी परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *