इटहरी मेयरको टिप्पणीविरुद्ध पत्रकार महासंघको आन्दोलन सुरु
इटहरी । गोर्खा खबर
मेयरले समाचार प्रकाशन अघि आफ्नो सचिवालयमा पठाउनुपर्ने र ‘दानापानी नदिए समाचार छाप्ने’ भन्दै सामाजिक सञ्जालमा गरेको टिप्पणीपछि महासंघले सङ्गीत चोकमा ऐक्यबद्धता सभा आयोजना गरेको हो।
इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले पत्रकारहरूबारे सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिविरुद्ध नेपाल पत्रकार महासंघ, सुनसरीले सडक आन्दोलन सुरु गरेको छ।
सभामा नागरिक समाज, उद्योग वाणिज्य संघ, राजनीतिक दल, साहित्यकार तथा पत्रकारहरू सहभागी थिए। वक्ताहरूले प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता लोकतन्त्रका आधार स्तम्भ भएको बताएका थिए।
महासंघले मेयरको टिप्पणीप्रति आपत्ति जनाउँदै खण्डन तथा माफी माग गर्न आग्रह गरेको थियो। चरणबद्ध कार्यक्रमसहित नेपाली काँग्रेसको नगर, जिल्ला र केन्द्रसम्म ध्यानाकर्षण गराउने बताइएको छ।
महासंघ सुनसरीका सचिव विनय वाह्कोटीका अनुसार, प्रेस स्वतन्त्रता र पत्रकारहरूको गरिमा रक्षा गर्न अब थप संघर्ष अघि बढाइनेछ।
