फरक ढंगमा यसपटक धरानमा १५औँ संस्करण, ‘Gofi Dharan 10k नेवा च्यारेटी रन’, दर्ता खुला (अडियो पनि)

0
Dharan run 15th 4

धरान । गोर्खा खबर

धरानको प्रतिष्ठा र खेलकुद पर्यटनको मुख्य आकर्षणको रूपमा रहेको ‘Gofi Dharan 10k नेवा च्यारेटी रन २०२७’ को १५औँ संस्करणका लागि औपचारिक रूपमा दर्ता खुल्ला गरिएको छ। आगामी माघ २३ गते आयोजना हुने यस भव्य प्रतियोगितामा ५ हजारभन्दा बढी धावक-धाविकाहरूले भाग लिने अपेक्षा गरिएको छ। धरान रन समूहले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी र दर्ता प्रक्रियाबारे औपचारिक जानकारी दिएको हो।

यस पटक दर्ता शुल्कलाई तीन चरणमा विभाजन गरिएको उपाध्यक्ष अविनाश श्रेष्ठले जानकारी दिएका छन्।

जस अनुसार अर्ली बर्ड रजिस्ट्रेसन अन्तर्गत कात्तिक १ देखि मंसिर १४ गतेसम्म दर्ता गर्नेले ४ सय रुपैयाँ, नियमित दर्ता अन्तर्गत मंसिर १५ देखि पुस ३० गतेसम्म ५ सय रुपैयाँ र माघ १ देखि १५ गतेसम्म दर्ता गर्नेले ७ सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। यस्तै, १३ वर्षमुनिका बालबालिकालाई प्रोत्साहन गर्न कात्तिक १ देखि माघ १५ गतेसम्मका लागि ४ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए।

‘शिक्षाका लागि दौड’ मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा कुल पुरस्कार राशी र विधालाई पनि निकै समावेशी बनाइएको छ। खुला विधातर्फ प्रथम, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष धावकले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, १३ वर्षमुनि र १२ देखि १५ वर्ष उमेर समूहमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाउनेछन्। ४० देखि ४९ वर्षको भेट्रान विधातर्फ १० हजार, ७ हजार र ५ हजार, ५० देखि ५९ वर्षको मिड भेट्रान विधातर्फ ७ हजार, ५ हजार र ३ हजार तथा ६० वर्षमाथिको सुपर भेट्रान विधातर्फ प्रथम हुने महिला तथा पुरुषलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने संस्थाका अध्यक्ष हेम सुनुवारले जानकारी दिए।

यस पटक धावकहरूको सुविधा र गुणस्तरलाई विशेष ध्यान दिइएको अध्यक्ष हेम सुनुवारको भनाइ छ। धावकको यथार्थ समय मापन गर्न अत्याधुनिक चिप टाइमिङ प्रणाली प्रयोग गरिनेछ भने दौडका क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै धावकहरूका लागि १ लाख रुपैयाँसम्मको उपचार बिमाको समेत व्यवस्था गरिएको छ।

प्रतियोगितामा ह्विलचेयर रेस समेत समावेश गरिनेछ। निर्धारित समयभित्र दौड पूरा गर्ने सिनियरतर्फ उत्कृष्ट २ हजार र जुनियरतर्फ उत्कृष्ट ९ सय धावकलाई मेडल, जुस तथा पानी उपलब्ध गराइनेछ।

पत्रकार सम्मेलनमा बोल्दै धरान रन समूहका प्रवक्ता गोपाल राईले दौड प्रतियोगिताका बहुआयामिक फाइदाहरूमाथि प्रकाश पारे। प्रवक्ता राईका अनुसार धरान रनले केवल प्रतिस्पर्धा मात्र नभई सम्पूर्ण नगरवासीमा स्वास्थ्य सचेतना, शारीरिक सुगठन, मानसिक ताजगी र नियमित व्यायामको बानी बसाल्न अहम् भूमिका खेलेको छ।

यसका साथै, यस्ता बृहत खेलकुद आयोजनाले धरानको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुर्‍याउनुका साथै भाइचारा, सामाजिक सद्भाव र एकताको सन्देश फैलाउन मद्दत पुग्ने प्रवक्ता राईले बताए।

धरानका स्थानीय धावक-धाविकाहरूलाई खेल क्षेत्रमा अघि बढाउन र उनीहरूको प्रतिभा उजागर गर्न छुट्टै आकर्षक प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए।

दौडबाट प्राप्त हुने आम्दानीलाई विशुद्ध सामाजिक काममा लगाइने उपाध्यक्ष अविनाश श्रेष्ठले बताएका छन्।

प्रतियोगिताबाट संकलित रकम ‘नेवा एजुकेशन फण्ड’ मा जम्मा गरी धरानका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ।

धरान रन समूहले विगतदेखि नै दौडमार्फत संकलित रकमलाई शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणका क्षेत्रमा पारदर्शी ढङ्गले खर्च गर्दै आएको छ।

आगामी माघ २३ गते बिहान ७ः३० बजे धरानको भानुचोकबाट सुरु हुने यो दौड पुतलीलाइन, देशीलाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट, कभर्ड हल, जिरो पोइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चोक, पानीट्यांकी, कल्याण चोक, मंगलबारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक र पुतलीलाइन हुँदै पुनः भानुचोकमा पुगेर भव्य रूपमा समापन हुनेछ।

आयोजक धरान रन समूहले धरानको पहिचान बनेको यस परोपकारी महाउत्सवलाई सफल बनाउन सम्पूर्ण नगरवासी, संघसंस्था, सञ्चारकर्मी तथा खेलप्रेमीहरूमा हार्दिक अपिल गरेको छ।

यस प्रतियोगिताको मुख्य प्रायोजक GOFI (Generation of Fashion Industry) रहेको छ।

सुमित र उनकी धर्मपत्नी पूजाद्वारा स्थापित GOFI सन् २००९ मा सुरु भएको मनकामना गार्मेन्ट इन्डस्ट्रीको विरासतबाट अगाडि बढेको ब्राण्ड हो। चार पुस्ताको फेसन अनुभव बोकेको GOFI ले नेपालमै उत्पादनलाई प्रवर्द्धन गर्दै स्वदेशी रोजगारी सिर्जना र आयात विस्थापनमा ठूलो योगदान पुर्‍याउँदै आएको छ। ओल्गापुरी भोकेशनल स्कूलसँगको सहकार्यमा ग्रामीण क्षेत्रका बेरोजगार महिलाहरूलाई तालिम दिई १००% रोजगारीको अवसर समेत प्रदान गर्दै आएको GOFI ले यस दौड प्रतियोगितामार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियानमा बलियो साथ दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *