तरहरा जेसीजद्वारा उत्कृष्ट कन्टेन्ट क्रिएटरलाई नगद ५१ हजार पुरस्कार प्रदान गरिने
गोर्खा खबर । तरहरा
तरहरा जेसीज (जेसीआई तरहरा) ले तरहरा क्षेत्रमै पहिलोपल्ट डिजिटल कन्टेन्ट क्रियशनका माध्यमबाट प्रभावकारी सामाजिक सन्देश प्रवाह गर्न सक्ने प्रतिभाशाली क्रिएटरहरूलाई लक्षित गर्दै ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिताको तेस्रो संस्करण घोषणा गरेको छ। यस कार्यक्रमबारे जानकारी दिन जेसीआई तरहराले स्थानीय सञ्चारकर्मी, लोकप्रिय कन्टेन्ट क्रिएटरहरू तथा डिजिटल क्षेत्रका युवाहरूसँग एक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको अनावरण गरेको छ।
आगामी मंसिर १९ गते आयोजना हुने फाइनल प्रतियोगितामा उत्कृष्ट ठहरिने क्रिएटरहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार रुपैयाँ र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै, जेसीआई तरहराको आधिकारिक इन्स्टाग्राम, युट्युब र टिकटक पेजहरू मार्फत सर्वाधिक भ्युज (Most Views) बटुल्न सफल भिडियोलाई छुट्टै २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।
जेसीआई तरहराका अध्यक्ष मिलन गुरुङले तरहरा जेसीजको सन् २०२६ को कार्ययोजना (Plan of Action) अन्तर्गत अध्यक्षीय कार्यक्रमका रूपमा यस ‘ट्यालेन्ट हन्ट’लाई अगाडि बढाइएको जानकारी दिएका छन्। यस कार्यक्रमको सुरुवात पूर्व अध्यक्ष विकास गिरीले गरेका थिए भने यस तेस्रो संस्करणको कार्यक्रम निर्देशकको जिम्मेवारी पनि गिरी स्वयंले नै सम्हालेका छन्।
कार्यक्रमको सञ्चालन गर्दै महासचिव मदन बस्नेतले प्रतियोगिताका नियमहरू, अनिवार्य शर्तहरू तथा अन्य आवश्यक मापदण्डबारे थप विवरणहरू केही दिनभित्रै आधिकारिक फेसबुक पेज, युट्युब, सामाजिक सञ्जाल, वेबसाइट तथा कार्यक्रमलाई प्राविधिक सहयोग गरिरहेको प्लेटफर्म ‘Kolab’ (kolab.com.np) मार्फत सार्वजनिक गरिने बताए ।
तरहराको पहिचानलाई कसरी अझ बृहत् बनाउन सकिन्छ र प्राविधिक पक्षहरूलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सरोकारवाला तथा क्रिएटरहरूसँग थप छलफल गरेर अर्को पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराइने अध्यक्ष गुरुङले स्पष्ट पारे ।
उक्त अन्तरक्रिया कार्यक्रममा चर्चित कन्टेन्ट क्रिएटर, भिडियो अभिनेता, निर्देशक तथा सम्पादक जेरी लिम्बू र उहाँको टोलीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, जेसीआई तरहराका ईभीपी सरोज खड्का, नेपालको क्रिएटर मार्केटप्लेस ‘Kolab’ का निर्देशक सुन्दर *वन, दियाहाङ राई, पत्रकारहरू पवन अधिकारी, सञ्जीव तिम्सिना लगायत स्थानीय सिर्जनशील युवा तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
(*जानकारीः सुन्दर वन हुनुपर्नेमा बानियाँ भएकोमा क्षमायाचनासहित सच्याईएको छ ।)
