सुनसरी क्षेत्र नं. २ महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया, सिजन गुरुङको असहमति, सूर्य राईको विरोध र निवेदन

0
congress sunsari bews

गोर्खा खबर विशेष । इटहरी/सुनसरी

“सिजन गुरुङको असहमति”

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधि चयनका लागि सहमतिका नाममा सार्वजनिक गरिएको सूचीप्रति नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा कांग्रेस युवा नेता सिजन गुरुङले असहमति जनाएका छन् ।

क्षेत्रीय समिति क्षेत्र नं. २, सुनसरीले सहमतिका आधारमा ३३ जना महाधिवेशन प्रतिनिधिको नाम चयन गरी निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस पत्र बुझाएको थियो । सो सूचीको खुल्ला पुरुषतर्फ १० औं क्रमसंख्यामा सिजन गुरुङको नाम समावेश गरिएको छ ।

तर, उक्त सहमति र नामावलीप्रति असन्तुष्टि जनाउँदै युवा नेता गुरुङले प्रक्रियागत र लोकतान्त्रिक पारदर्शिता कायम हुनुपर्ने माग राखेका छन् ।

सहमतिको नाममा सार्वजनिक गरिएको विषयमा मेरो नाम समावेश गरिएको भए पनि त्यसप्रति म पूर्ण रूपमा असहमत छु भन्दै उनले फेशबुकमा लेखेका छन्, त्यसैले सम्पूर्ण निर्वाचन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक ढंगले अघि बढाइयोस् । अन्यथा, मेरो स्थानमा इच्छुक तथा योग्य अन्य व्यक्तिलाई जिम्मेवारी दिइयोस्।

क्षेत्रीय समितिले निर्वाचन अधिकृतलाई सम्बोधन गरी पठाएको पत्रमा तोकिएको मितिमा निर्वाचन हुन नसकेको र महाधिवेशनको समय खेर नजाओस् भन्ने उद्देश्यले केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभा सभापति तथा पालिका सभापतिहरूले गरेको निर्णय मन्जुर गरी महाधिवेशन प्रतिनिधि चयन गरिएको उल्लेख छ।

उक्त सिफारिस सूचीमा पुराना सदावहार नेताहरु राजीव कोइराला, राजीव ढुङ्गाना, केदार भण्डारी, सिताराम मेहता, लिलामणि सुवेदी लगायतका नेताहरूसँगै सिजन गुरुङको नाम पनि खुल्ला पुरुषतर्फ समावेश छ । गुरुङले सहमतिको नाममा नेताहरूले खडा गरेको विधिप्रति असहमति जनाउँदै महाधिवेशन प्रतिनिधि चयन पारदर्शी र लोकतान्त्रिक ढंगले हुनुपर्ने अडान लिएका छन् । युवा कांग्रेसीहरुले सिजनको यो असहमतिको प्रशंसा गरेका छन् ।

“सूर्य राईको विरोध र निवेदन”

त्यसैगरि, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को अधिवेशन रोकेर नेताहरूले आफैंलाई विजेता घोषणा गरेको र नक्कली महाधिवेशन प्रतिनिधि बनाएको भन्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि ९खुल्ला तर्फका उम्मेदवार सूर्य राई ९सुरस राई० ले कडा विरोध जनाएका छन्।

नेता राईले इनरुवास्थित पार्टी कार्यालयमा पुगेर निर्वाचन अधिकृत तथा जिल्ला पार्टी सभापति समक्ष औपचारिक निवेदन दर्ता गराएका छन् । उनले निर्वाचन प्रक्रिया पूरा गरी वास्तविक मतपरिणामका आधारमा मात्र विजेता तथा महाधिवेशन प्रतिनिधि घोषणा गर्न र सम्पूर्ण विषयमा निष्पक्ष छानबिन गरी विधि, विधान र तथ्यका आधारमा न्यायोचित निर्णय गर्न माग गरेका छन् ।

उनले फेशबुक मार्फत भनेका छन्, “हारिने डरले नेताहरूले निर्वाचन रोकेर सहमतिका नाममा आ-आफैं स्वाघोषित महाधिवेशन प्रतिनिधि घोषणा गरेका छन्। आम कार्यकर्ता र संसारले हेरिरहेको बेला आफ्नै पार्टीमा यसरी डाका हाल्ने काम होला भनेर कसैले सोचेको थिएन। यो सही हो कि गलत, अब भुइँ कार्यकर्ताहरूले छुट्याउने बेला आएको छ।”

सुनसरी क्षेत्र नं. २ मा सहमतिका नाममा महाधिवेशन प्रतिनिधि चयन गरिएको विषयलाई लिएर युवा नेताहरू सिजन गुरुङ र सूर्य राई दुवैले प्रश्न उठाएका छन्, जसले गर्दा स्थानीय तहमा कांग्रेसभित्रको विवाद झन् चर्किएको छ।

सामाजिक सञ्जालमा समेत कडा आक्रोश पोख्दै नेता सूर्य राईले क्षेत्रीय समितिको लेटरप्याड दुरुपयोग गरी सहमतिका नाममा लोकतान्त्रिक विधि र प्रक्रिया मिचिएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *