इटहरीमा ‘प्रथम तालतलैया गोल्डकप’ असोज १ गतेदेखि सुरु हुने, विजेताले १ लाख ११ हजार पाउने

0
Roshan Bhujel

इटहरी । गोर्खा खबर

इटहरी क्षेत्रमा फुटबल खेलको संरक्षण, प्रवर्धन र विकासका साथै उदीयमान खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ।

तालतलैया फुटबल क्लब, इटहरी-२० को आयोजनामा आगामी असोज १ गते बिहीबारदेखि असोज १० गते शनिबारसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।

बुढासुब्बा खेल मैदान (इटहरी-२) मा आयोजना हुने उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरू दैनिक दिउँसो ३:०० बजेदेखि सञ्चालन गरिने तयारी रहेको आयोजक समितिका सचिव रोशन भूजेलले आज पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पूर्वी क्षेत्रका विभिन्न ८ प्रमुख फुटबल क्लबहरूले सहभागिता जनाउनेछन्। जसमा माहुली एफ. सी. (सप्तरी), डाँडा बजार एफ. सी. (धनकुटा), डाँगीहाट एफ. सी. (मोरङ), पञ्चायन एफ. सी. (सुनसरी), पञ्चायन, कुसुमे साइजिङ क्लब (मोरङ), नव युवा क्लब (सुकुचुर), सतीसाले युवा क्लब (केराबारी), र फ्युजन एफ. सी. (उदयपुर) का साथै आयोजक तालतलैया फुटबल क्लब (इटहरी) बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार) नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ५५,५५५ (पचपन्न हजार पाँच सय पचपन्न) नगद पुरस्कार हात पार्ने, आज पत्रकार सम्मेलनमा जनाइयो ।

यसका साथै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ तथा प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिने, उनले बताए ।

वि.सं. २०७२ सालदेखि इटहरीको खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको तालतलैया फुटबल क्लबले नियमित प्रशिक्षणमार्फत विभिन्न उमेर समूहका खेलाडीहरू उत्पादन गर्दै आएको छ।

क्लबका सचिव रोशन भुजेलका अनुसार, स्थानीय स्तरमा खेलको विकासका साथै युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गराउन स्थानीय निकाय, सञ्चारमाध्यम, प्रायोजक संस्था तथा खेलप्रेमीहरूबाट पूर्ण सहयोगको अपेक्षा गरिएको क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *