इटहरी, सुनसरी । इटहरी उपमहानगरपालिका–१९ र २० अन्तर्गत पर्ने तरहरा बजार क्षेत्रमा पछिल्लो समय विद्युतको लो–भोल्टेज, अनियमित विद्युत आपूर्ति, यातायात व्यवस्थापन तथा बढ्दो ट्राफिक दुर्घटनाका घटनाले स्थानीयवासी प्रभावित बन्दै आएका छन्।
स्थानीय नागरिकबाट निरन्तर गुनासो आएपछि इटहरी–२० का वडा सदस्य जनप्रतिनिधि तनुज गुरुङ समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सक्रिय हुनुभएको छ। यसैक्रममा उहाँले नेपाल विद्युत प्राधिकरण, इटहरी वितरण केन्द्रका प्रमुख सञ्जीव कुमार शाहसँग भेटवार्ता गरी स्थानीयले भोगिरहेका विद्युतसम्बन्धी समस्याबारे ध्यानाकर्षण गराउनुभएको हो।
भेटका क्रममा विशेषगरी लो–भोल्टेज, विद्युत सेवा विस्तार तथा गुणस्तर सुधारका विषयमा छलफल भएको बताइएको छ। साथै, तरहरा तथा आसपासका क्षेत्रमा देखिएका यातायात व्यवस्थापन र ट्राफिक दुर्घटनाका समस्याको दीर्घकालीन समाधानका लागि सडक विभाग प्रमुखसँग तथा सम्बन्धित निकायसँग समेत समन्वयात्मक पहल अगाडि बढाइएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो। इटहरीका यातायात सडक विभाग प्रमुखसँग टेबल टक गर्दै तरहरा एरिया हाइवेमा कुनै पनि बस स्टप नभएको र बस स्टप नहुँदा विभिन्न सफारीहरूको चाप बढ्दो र तीव्र गतिको स्पिडले विभिन्न दुर्घटना हुने समस्या देखाउँदै तर चोकको उत्तरपट्टि एउटा बस स्टप हुनुपर्ने बताउनु भयो
यसैबीच, इटहरी उपमहानगरपालिका–२० को आयोजनामा हालै सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा हजारौं स्थानीयवासीले सेवा लिएका छन्। शिविरमा विभिन्न रोगहरूको निःशुल्क परीक्षण, स्वास्थ्य परामर्श तथा केही जटिल र प्राणघातक रोगहरूको प्रारम्भिक जाँचको व्यवस्था समेत गरिएको थियो।
स्थानीय सरकारले जनताको आधारभूत आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।