तमु ल्होसार झाँकी प्रदर्शनीमा खोटाङ गुरुङ (तमु) सेवा समाजको उत्कृष्ट प्रदर्शन

0
608074696_1643459633501221_1306566677185503161_n-min

अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले प्राप्त गरेको यो उपलब्धि सबैको सामूहिक प्रयासको प्रतिफल हो। यस वर्ष छैटौँ स्थानमा रहे पनि आगामी वर्षहरूमा हाम्रा कमी-कमजोरीहरूलाई सुधार गर्दै प्रथम स्थान हासिल गर्ने संकल्प लिएका छौँ।”

काठमाडौं । तमु गुरुङ समुदायको महान् चाड तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित बृहत् झाँकी र्‍याली तथा प्रदर्शनीमा खोटाङ गुरुङ (तमु) सेवा समाजले आफ्नो मौलिक पहिचानसहित उत्कृष्ट सहभागिता जनाएको छ।

यस वर्षको ल्होसार झाँकी प्रदर्शनीमा खोटाङे गुरुङहरूको बाक्लो र गरिमामय उपस्थितिले संस्थाको इतिहास र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गरेको छ। काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार झाँकी प्रदर्शनीमा खोटाङ गुरुङ (तमु) सेवा समाजले ५८ अंकका साथ छैटौँ स्थान हासिल गरेको छ। समाजले २०८० सालको ल्होसारमा ६४ अंकका साथ तेस्रो स्थान, २०८१ सालमा ७९ अंकका साथ दोस्रो स्थान र यस वर्ष २०८२ सालको प्रदर्शनीमा छैटौँ स्थान हासिल गर्न सफल भएको छ।

विगतका वर्षहरूमा पनि समाजले झाँकी प्रदर्शनीमा निरन्तर सफलता प्राप्त गर्दै आएको छ।

समाजका अध्यक्ष होमनाथ गुरुङले कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण आमा समूह, युवा समूह, कलाकार, स्वयंसेवक र शुभचिन्तकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले प्राप्त गरेको यो उपलब्धि सबैको सामूहिक प्रयासको प्रतिफल हो। यस वर्ष छैटौँ स्थानमा रहे पनि आगामी वर्षहरूमा हाम्रा कमी-कमजोरीहरूलाई सुधार गर्दै प्रथम स्थान हासिल गर्ने संकल्प लिएका छौँ।”

झाँकीमा सहभागी कलाकार, संगीतकार र स्वयंसेवकहरूको अहोरात्र खटाईको प्रशंसा गर्दै संस्थाले सम्पूर्ण देश-विदेशमा रहेका खोटाङे गुरुङहरूमा आभार समेत व्यक्त गरेको छ। साथै, सोही अवसरमा समाजले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सबैमा मंगलमय शुभकामना समेत आदानप्रदान गरेको छ।

समाजसेवा र खेलकुदका नक्षत्र होमनाथ गुरुङ ‘दोस्रो तरहरा उत्सव’मा विशेष सम्मानित हुँदै

काठमाडौं – निस्वार्थ समाजसेवा, खेलकुद र सांस्कृतिक संरक्षणमा अतुलनीय योगदान पुर्‍याउँदै आउनुभएका स्थापित व्यक्तित्व होमनाथ गुरुङलाई ‘दोस्रो तरहरा उत्सव’मा विशेष सम्मान गरिने भएको छ। खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौंका अध्यक्ष समेत रहनुभएका गुरुङलाई उहाँको सामाजिक समर्पण र राष्ट्रभक्तिको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो।

भूतपूर्व सिंगापुर गोर्खा (Ex-Singapore Gurkha) का रूपमा राष्ट्रको मान बढाउनुभएका गुरुङ सेवानिवृत्त भएपछि पूर्णतः समाजसेवामा समर्पित हुनुहुन्छ। उहाँले विभिन्न सामाजिक र जातीय संस्थाहरूको नेतृत्व गर्दै जाति, भाषा र संस्कृतिको उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। विशेष गरी खोटाङे गुरुङहरूको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन उहाँले युके, हङकङ र अन्य डोनरहरूको विशेष सहयोगमा खोटाङ जिल्लामा रहेका ४१ गुरुङ बस्तीहरूलाई समेटेर एउटा ऐतिहासिक वृत्तचित्र (Documentary) निर्माण गर्नुभएको छ। यो वृत्तचित्रले खोटाङे तमुहरूको मौलिकता र इतिहासलाई दस्तावेजको रूपमा सुरक्षित राख्न ठूलो योगदान दिएको छ।

सांस्कृतिक क्षेत्रमा उहाँकै सफल नेतृत्वमा खोटाङ गुरुङ (तमु) सेवा समाजले काठमाडौंको ल्होसार झाँकी प्रदर्शनीमा निरन्तर ऐतिहासिक सफलता प्राप्त गर्दै आएको छ। समाजले २०८० सालको ल्होसारमा ६४ अंकका साथ तेस्रो स्थान, २०८१ सालमा ७९ अंकका साथ दोस्रो स्थान र यस वर्ष २०८२ सालको प्रदर्शनीमा छैटौँ स्थान हासिल गर्न सफल भएको छ। यी सफलताहरूमा गुरुङको दुरदर्शी नेतृत्व र समुदायप्रतिको उत्तरदायित्व नै मुख्य कारक रहेको सरोकारवालाहरू बताउँछन्।

पहिचान र पूर्वाधार विकासमा प्रतिबद्ध गुरुङकै अगुवाईमा काठमाडौंमा ‘खोटाङ गुरुङ (तमु) भवन’ निर्माण गर्ने वृहत् योजना अघि सारिएको छ। यसका लागि उहाँले व्यक्तिगत रूपमा नगद तथा जिन्सी सहयोग गर्दै आउनुभएको छ। समाजसेवासँगै चावहिलमा सहकारी संस्था सञ्चालन गरी आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याउनुभएका गुरुङ एक सफल उद्यमी र कुशल व्यवस्थापकका रूपमा चिनिनुहुन्छ। साथै, उहाँ एक अन्तर्राष्ट्रियस्तरका खेलाडी समेत हुनुहुन्छ र खेलकुदका माध्यमबाट पनि राष्ट्रिय स्तरका विभिन्न सम्मानबाट विभूषित भइसक्नुभएको छ।

आफ्नो मातृभूमि र समुदायप्रतिको अगाध प्रेम, निस्वार्थ सेवा र राष्ट्रिय हितका लागि उहाँले खेल्नुभएको भूमिका सबैका लागि प्रेरणादायी रहेको आयोजक समितिले जनाएको छ। आगामी ‘तरहरा उत्सव’मा गरिने यो सम्मानले समाजमा सकारात्मक परिवर्तनका लागि खट्ने हरेक नागरिकलाई थप उर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *