तरहरा जेसीजको जेसीज सप्ताह २०२६, यस्तो छ कार्यतालिका
तरहरा, सुनसरी — युवाहरूको अन्तरनिहित क्षमतालाई उजागर गर्दै समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यका साथ तरहरा जेसीजले “Let’s Grow Together” मूल नाराका साथ ‘जेसीज सप्ताह २०२६’ (JCI Week 2026) आयोजना गर्ने भएको छ। आगामी कार्तिक १५ गतेदेखि कार्तिक २१ गतेसम्म विविध रचनात्मक तथा सामाजिक कार्यक्रमका साथ जेसीज सप्ताह सञ्चालन हुने भएको हो।
कार्यक्रमबारे जानकारी दिँदै तरहरा जेसीजका कार्यकारिणी उपाध्यक्ष (EVP) सरोज खड्काले युवा प्रतिभाको पहिचान, नेतृत्व विकास र समाजसेवालाई प्रवर्द्धन गर्नका लागि हप्ताभरि नै फरक-फरक कार्यक्रमहरूको तालिका तयार पारिएको बताउनुभयो। EVP खड्काका अनुसार कार्तिक १५ गते तरहरा चोकमा ‘स्लो बाइक रेस’ बाट सुरु हुने सप्ताह कार्तिक २१ गते ‘लोकनृत्य प्रतियोगिता’ र ‘हाउसजी तम्बोला’ सँगै समापन हुनेछ।
त्यस्तै, तरहरा जेसीजका अध्यक्ष मिलन गुरुङले जेसीज सप्ताहले सम्पूर्ण समुदायलाई जोड्ने र युवाहरूमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष गुरुङका अनुसार जेसीज सप्ताह लगत्तै अर्को ठूलो आकर्षणका रूपमा १ महिनापछि (मंसिर महिनामा) भव्य रूपमा ‘तरहरा हन्ट’ (Tarahara Hunt) आयोजना गरिनेछ।
विभिन्न विधामा प्रतिस्पर्धा गराइने उक्त ‘तरहरा हन्ट’ मा कुल १ लाख रुपैयाँ बराबरको नगद पुरस्कार राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
सप्ताहभरि आयोजना हुने विभिन्न कार्यक्रमहरूको तालिका अनुसार कार्तिक १५ गते तरहरा चोकमा ‘स्लो बाइक रेस’ आयोजना गरिनेछ भने कार्तिक १६ गते राष्ट्रिय जनसहयोग कलेजमा ‘वक्तृत्वकला प्रतियोगिता’ सञ्चालन हुनेछ। त्यसैगरी, कार्तिक १७ गते सगरमाथा खेल मैदानमा ‘दन्त शिविर’ र कार्तिक १८ गते सोही स्थानमा ‘बाघचाल प्रतियोगिता’ हुनेछ। कार्तिक १९ गते तरहरा फुटसलमा ‘मैत्रीपूर्ण फुटबल’ प्रतियोगिता सञ्चालन हुनेछ भने कार्तिक २१ गते सगरमाथा खेल मैदानमा ‘लोकनृत्य प्रतियोगिता’ तथा ‘हाउसजी तम्बोला’ आयोजना गरी जेसीज सप्ताहको समापन गरिने कार्यकारिणी उपाध्यक्ष (EVP) सरोज खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनपछि गोर्खा खबर र सोल्टी टिभीसँग कुराकानी गर्दै जानकारी गराउनुभयो ।
तरहरा जेसीजले सम्पूर्ण जेसीज प्रेमी, युवा तथा स्थानीय बासिन्दाहरूलाई यी कार्यक्रमहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
